सिरहा । यहाँको लहान नगरपालिका-२३ गाढा गाउँमा करेन्ट लागेर ज्यान गुमाएका शिक्षक विजेन्द्रकुमार सहनीका परिवारलाई लहान नगरपालिकाले राहत प्रदान गरेको छ ।
गत शनिबार बिहान खेतमा सिँचाइ गर्ने क्रममा विद्युतीय मोटर चलाउँदा करेन्ट लागेर जनता माध्यमिक विद्यालयमा अध्यापन गराउने लहान-१९ का ३८ वर्षीय शिक्षक सहनीको निधन भएको थियो । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी आज पीडितको घर पुगी उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो।
सोही क्रममा उहाँले नगरपालिकाको तर्फबाट सहनीको परिवारलाई तत्काल राहतस्वरूप एक क्विन्टल चामल, दाल, नुन, तेललगायत खाद्यान्न सामग्री प्रदान गर्नुभएको हो । साथै, नगरप्रमुख चौधरीले मृतककी पत्नी मञ्जु सहनीलाई योग्यताअनुसार सोही विद्यायलमा रोजगार उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाउनुभयो । मृतकका तीन सन्तानको शिक्षामा समेत सहयोग गर्ने आश्वासन उहाँले दिनुभयो ।
शिक्षक सहनीको असामयिक निधनले परिवारका साथै सम्पूर्ण शिक्षाप्रेमी समाजलाई स्तब्ध बनाएको नगरप्रमुख चौधरीले बताउनुभयो । पीडित परिवारका लागि दीर्घकालीन सहयोग कार्यक्रमसमेत अघि बढाइने नगर कार्यालयले जनाएको छ।रासस
