मनाङ । मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमजुङको कोलोसोथर गाउँपालिका–४ का ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका प्रहरीले जनाएको छ।
लेक लागेर बिरामी भएका गुरुङको आजै हेलिकप्टरबाट उद्दार गरी उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो।
उहाँले मृतकका भाई केशबहादुर गुरुङले घटनास्थलमा नै लेक लागेर मृत्यु भएको खबर गरे पनि अस्पताल पठाउँदा चिकित्सकले पनि मृत्यु भइसकेको जानकारी गराएको बताउनुभयो। यस्तै,नार्पाभूमि–४ याकखर्कमा पर्यटकको भारी बोकी फर्कने क्रममा नुवाकोट किस्पाङ गाउँपालिका–११ का ४९ वर्षीय साम्बा घलेको शुक्रबार लेक लागेर घटनास्थलमा नै मृत्यु भएको थियो।रासस
