काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले जेनजी आन्दोलनका घाइतेलाई भेट्नुभएको छ। उहाँ आज घाइतेको अवस्थाबारे जानकारी लिन त्रिवि शिक्षण अस्पताल,काठमाडौँ मेडिकल कलेज (केएमसी) र राष्ट्रिय ट्रमा सेन्टर जानुभएको थियो।
“घाइतेको उपचार राम्ररी भइरहेको छ,केहीको अवस्था सुधारोन्मुख र केहीको अवस्था जटिल छ। उपचारमा कुनै कमी हुन दिइन्न”,मन्त्री शर्माले घाइतेलाई भेटेपछि सञ्चारकर्मीसँग भन्नुभयो,“उहाँहरुको अवस्था हेर्दा साह्रै गाह्रो भयो। यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ। जसले सरकारको विरोध गर्नुहुन्छ,चुनाव भाँड्न खोज्नुहुन्छ त्यो नगर्नुस्। म सबैलाई यही अनुरोध गर्न चाहन्छु।”
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार हाल अस्पतालमा देशभर जेनजी आन्दोलनका ११ घाइते उपचाररत् छन्। राष्ट्रिय ट्रमा सेन्टरमा चार,त्रिवि शिक्षण अस्पतालमा तीन,काठमाडौँ मेडिकल कलेजमा दुई तथा बी एण्ड बी र नोबेल मेडिकल कलेजको शिक्षण अस्पतालमा एक÷एक जनाको उपचार भइरहेको छ।
