झापा । सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घरभित्र खाद्य भण्डारमा समान निकाल्ने क्रममा गएराति ८ः३० बजे आसपासमा उहाँलाई गोमन सर्पले दाँया खुट्टामा डसेको थियो। त्यसपछि उहाँलाई उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकामा चिकित्सकले राति ११ः४५ बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।
गर्मीसँगै वर्षात्का समयमा सर्प डसाइको प्रकोप हुने गरेको भए पनि हिउँदका समयमा सर्प डसाइको घटना हुँदै आएको केन्द्रका इञ्चार्ज देवीप्रसाद भण्डारीले बताउनुभयो। केन्द्रमा चालु आर्थिक वर्षको चार महिनामा ३७० जनाले उपचार सेवा पाएको उहाँको भनाइ छ।रासस
