भारतको केन्द्रीय क्षयरोग विभागले हालै सार्वजनिक तथ्याङ्कले भारतमा क्षयरोगको सङ्क्रमण र मृत्यु दुवैमा उल्लेखनीय गिरावट आएको पुष्टि गरेको छ।
विगत एक दशकमा क्षयरोग (टिबी) का घटनाहरूमा वृद्धि भएको भन्ने केही रिपोर्टपछि सार्वजनिक सरकारी तथ्याङ्कमा क्षयरोगको सङ्क्रमण र मृत्यु दुवैमा उल्लेखनीय गिरावट आएको बताइएको हो । रोग नियन्त्रणका लागि सशक्त निगरानी, प्रारम्भिक पहिचान र विस्तारित उपचार सेवाको कारण क्षयरोगको प्रभाव कम भएको हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को ग्लोबल टिबी रिपोर्ट २०२५ का अनुसार, “भारतमा टिबीको सङ्क्रमणमा २१ प्रतिशतले कमी आएको छ ।सन् २०१५ मा क्षयरोग सङ्क्रमितको सङ्ख्या प्रति एक लाख २३७ रहेकोमा सन् २०२४ मा यो सङ्ख्या १८७ मा झरेको छ । सोही अवधिमा क्षयरोगको मृत्युदर २५ प्रतिशतले घटेको छ । सन् २०१५ मा हरेक एक लाख व्यक्तिमा २८ जनाको मृत्यु हुने गरेकोमा सन् २०२४ मा यो सङ्ख्या २१ मा झरेको छ ।
सन् २०१५ मा उपचारको पहुँच ५३ प्रतिशत रहेकोमा यो सङ्ख्या सन् २०२४ मा ९२ प्रतिशतसहित उल्लेखनीय सुधारतर्फ अघि बढेको देखिएको छ । माथिका सबै तथ्याङ्कले रोगको सङ्क्रमण दर र बिस्तारमा उल्लेखनीय रूपमा कमी आएको देखिन्छ । टिबी मुक्ति भारत अभियानमा अनुगमनको जिम्मेवारी पाएको केन्द्रीय क्षयरोग विभागले भनेको छ, “यस क्षेत्रमा क्षयरोग सङ्क्रमण दरमा आएको नियन्त्रण सरकारको ध्यान यस समस्यामा केन्द्रित गर्नुको कारण हो । पहिले सीमित निगरानी अभ्यासका कारण यो छुटेको थियो।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१५ मा भारतमा करिब १५ लाख क्षयरोगका बिरामीको सङ्ख्या सरकारी निकायको स्रचीमा ‘सम्पर्कभन्दा टाढा’ थिए । सन् २०२४ मा यो सख्या ९३ प्रतिशतले घटेर एक लाख भन्दा कम भएको थियो। यसले पनि समस्या पत्ता लगाउने र नियन्त्रण गर्ने ठूलो सफलतालाई प्रतिबिम्बित गर्दछ।
सन् २०२४ डिसेम्बर ७ मा सुरु गरिएको टिबी मुक्त भारत अभियानले सक्रिय र प्रविधि–सञ्चालित रोग निगरानीको दिशामा रणनीतिक परिवर्तनलाई सङ्केत गरेको छ। अभियानले एआईबाट चल्ने हाते एक्स–रे, डिजिटल स्क्रिनिङ उपकरणलगायतका प्रविधिको उच्च जोखिम क्षेत्रहरूमा प्रयोग गरेको थियो । यस पहल अन्तर्गत अहिलेसम्म २४ लाख ८९ हजार सङ्क्रमितहरू अधिसूचित गरिएको थियो, जसमध्ये आठ लाख ७० हजार सङ्क्रमित लक्षणविहीन थिए । त्यस्ता सङ्क्रमण सम्भवतः परम्परागत विधिहरू अन्तर्गत निदान हुन सक्दैनन्।
अधिकारीहरूले अगाडि भने, “सूचनाहरूमा भएको वृद्धिलाई प्रायः क्षयरोग सङ्क्रमणका घटनाहरुमा वृद्धिको रूपमा गलत व्याख्या गरिन्छ, जबकि यसले वास्तवमा सुधारिएको पहिचान र छिटो उपचार सुरुवातलाई प्रतिबिम्बित गर्दछ र सङ्क्रमणलाई थप फैलनबाट रोक्छ। लक्षणहरू बिग्रनु अघि नै सङ्क्रमितहरूको पहिचान गर्दा सङ्क्रमण कम हुनु र राम्रो उपचार परिणामहरू दुवैमा योगदान पुर्याएको र अन्ततः क्षयरोगसँग सम्बन्धित मृत्युहरू कम भएको छ ।” अभियानले पोषण सहयोग, मनोसामाजिक सहायता र एआई–आधारित खोजी प्रणालीहरू प्रयोग गरेर उपचारका कमजोरी रोक्ने उपायहरू अवलम्बन गरेको छ ।
स्वास्थ्य मन्त्रालयले क्षयरोग विरुद्धको लडाइँमा भारत दृढतापूर्वक सही बाटोमा रहेको कुरा पुनः पुष्टि गरेको छ । क्षयरोग मुक्त भारत अभियानले घटनाहरू कम गर्न र मृत्यु दर रोक्नमा थप लाभ पुर्याउने अपेक्षा गरिएको छ। यस पहलले क्षयरोगको उन्मूलन गर्ने र आगामी वर्षहरूमा क्षयरोग–मुक्त भारतको लक्ष्यको नजिक पुग्ने सरकारको सङ्कल्पलाई जोड दिन्छ।रासस
