अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट हुने लागुऔषध तस्करी रोक्ने आफ्नो अभियान अन्तर्गत ‘भूमिबाट’ प्रत्यक्ष कारबाही चाँडै सुरु हुने घोषणा गर्नु भएपछि कारकाससँगको कूटनीतिक तनाव अझै बढेको छ। काराकासले अमेरिकाको यो पहललाई शासन परिवर्तनको उद्देश्य भएको भन्दै आरोप लगाउँदै आएको छ।
थ्याङ्क्सगिभिङ होलिडेको अवसरमा तैनाथ अमेरिकी सैनिकहरूसँग गरिएको भिडियो सम्बोधनमा राष्ट्रपति ट्रम्पले ‘साउदर्न स्पियर’ नामक लागुऔषध विरोधी अभियानमा संलग्न अमेरिकी बलको प्रशंसा गर्दै पछिल्ला हप्तामा भेनेजुएलाका तस्करहरूलाई रोक्ने गतिविधि तीव्र रहेको उल्लेख गर्नुभयो। यद्यपि उहाँले कुन कारबाहीलाई स्पष्ट रूपमा जनाउनुभएको हो भन्ने खुलाइएको थिएन।
अमेरिकी सेनाले हालै क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध तस्करीमा लागेको भन्दै अन्तर्राष्ट्रिय जलक्षेत्रमा गुड्ने डुङ्गाहरूमा हवाई आक्रमण गरी कम्तीमा ८३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ। यससँगै अमेरिकाले बी–५२ र बी–१बी बमवर्षक विमानहरू भेनेजुएलाको तट नजिक उडाउनुका साथै हवाई शक्ति प्रदर्शनसमेत तीव्र पारेको छ। राष्ट्रपति ट्रम्पले समुद्रमार्फत् लागुऔषध तस्करी ‘करिब ८५ प्रतिशत नियन्त्रणमा आइसकेको’ दाबी गर्दै अब‘भूमिबाट थप कडा निगरानी र रोकथाम चाँडै सुरु हुने’ बताउनुभयो।रासस
