सोलुखुम्बू । हरेक वर्षको हिउँदयाममा खुम्बू क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरु चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान बन्ने गरेको हो ।
स्थानीय बासिन्दा चिसो छल्न अन्यत्र जाँदा खुम्बू सुनसान बनेको छ । “यहाँ प्रायजसो चिसो भइरहन्छ । अरु समयमा भन्दा पुस, माघमा झन् धेरै चिसो हुने हुँदा यहाँका मानिस जाडो छल्न बेँसी झर्ने गर्दछन् । चिसो छल्न मङ्सिर पहिलो साताबाटै काठमाडौँ, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जाने गर्छन्”, खुम्जुङ माध्यमिक विद्यालयका शिक्षक तिलक विश्वकर्माले भन्नुभयो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार खुम्बू क्षेत्रमा पछिल्ला दिनमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा निकै तल छ । नाम्चे बजारमा न्यूनतम तापक्रम माइनस ६ देखि ८ डिग्री सेल्सियससम्म पुगेको स्थानीयको भनाइ छ । गोरक्सेप र कालापत्थर क्षेत्रमा तापक्रम माइनस १० डिग्री सेल्सियसभन्दा तल झरेको बताइएको छ ।
