देउखुरी (दाङ) । आफूलाई क्यान्सर भए/नभएको पत्ता लगाउन नियमित परीक्षण गर्नुपर्नेमा एक कार्यक्रमका सहभागी जोड दिएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजनामा यहाँ भएको ‘नेपालमा क्यान्सर नियन्त्रण, विद्यमान अवस्था, चुनौती र भावी कार्यदिशा’सम्बन्धी छलफल कार्यक्रमका सहभागीले नियमित स्वास्थ्य परीक्षण क्यान्सर पत्ता लगाउने प्रमुख माध्यम भएको बताएका हुन्। दाङमा पनि क्यान्सरका बिरामी पत्ता लाग्नेक्रम बढेको बताइएको छ।
नसर्ने रोगअन्तर्गत क्यान्सरको समस्या दिनप्रतिदिन बढ्दै गएको सरोकार भएकाहरूले बताएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका डा विकास गौचनले क्यान्सर भए÷नभएको पत्ता लगाउन समयसमयमा परीक्षण गर्नुपर्ने बताउनुभयो। उहाँले क्यान्सरबाट बच्नका लागि खानपान, जीवन शैलीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले शङ्का लागेपछि उपचार गर्नुभन्दा रोग नलाग्दै उपचार गर्नुपर्ने धारणा राख्नुभयो। क्यान्सरबाट बाच्नका लागि सुर्तीजन्य पदार्थ सेवन गर्न नहुने उहाँको भनाइ छ।
स्वास्थ्य कार्यालय दाङका पब्लिकहेल्थकर्मी रीता पौडेलले नेपालमा फोक्सोको क्यान्सर हुने कारणमा धुवाँधुलो, वातावरण प्रदूषणलगाउत कारणले हुने गरेको बताउनुभयो।
नेपालमा महिलामा हुने पाठेघरको मुखको क्यान्सरको दर १९ प्रतिशत रहेको जानकारी दिनुभयो। दाङमा पाठेघरको मुखको क्यान्सरबाट बच्न ३० देखि ६० वर्षका महिलाको स्वास्थ्य परिक्षणलाई दुई वर्षदेखि निरन्तर दिइरहेको उहाँले बताउनुभयो। स्थानीय तहसँगको समन्वयमा भिआइए प्रविधिबाट परीक्षण हुने भएकाले ढुक्कसँग परीक्षण गराउन उहाँले सबैलाई आग्रह गर्नुभयो।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल, लमहीस्थित लमही अस्पताल र गढवामा रहेको गढवा स्वास्थ्यचौकीमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण भइरहेको पब्लिकहेल्थकर्मी पौडेलले जानकारी दिनुभयो।
घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले महिलाका लागि निशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गरिएको बताउनुभयो। उहाँका अनुसार संस्थागत परिवार क्लिनिकमा महिलासम्बन्धी सबै किसिमका उपचार निःशुल्क हुने गरेका छन्।
स्वास्थ्य कार्यालय दाङबाट गत वर्ष १५१ जनाले क्यान्सर उपचारको सिफारिस लिएका थिए। यो वर्ष ५६ जनाले सिफारिस लिएका कार्यालयका जनस्वास्थ्य निरीक्षक कुन्दन ठाकुरले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि कक्षा ६ देखि १२ कक्षासम्मका किशोरीलाई एचपिभी खोप लागाउने गरेको छ।रासस
