भरतपुर । चितवनस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा पेट,आन्द्रा र पित्तनली क्यान्सर सम्बन्धी कार्यशालाको तयारी पूरा भएको छ । बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल अंकोलोजी विभागको आयोजनामा भोलि शुक्रबार हुने कार्यक्रममा भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा कार्यरत चिकित्सकसहित नेपालका क्यान्सर रोग विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नु हुनेछ ।
कार्यक्रममा भारतको राजीव गान्धी क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा मेडिकल निर्देशक डा. विनित तलवार र सोही अस्पतालका एकेडेमी डाइरेक्टर, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सिभेन्द्र सिंहले पेट, आन्द्रा र पित्तनली क्यान्सरको उपचारमा भएका खोज–अनुसन्धान, उपचारका नवीनतम पद्धति तथा उपलब्धिबारे वैज्ञानिक शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम संयोजक क्यान्सर रोग विशेषज्ञ डा.सुरेश कुमार दीपले जानकारी दिनुभयो ।
सो कार्यक्रममा बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा कार्यरत क्यान्सर रोग बिशेषज्ञहरुले पनि कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
