भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालनको तयारी सुरु गरिएको छ।
किशोरी अवस्थामै क्यान्सरबाट जोगाउने उद्देश्यले १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई लक्षित गरी अभियान सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाभित्र रहेका आठ वटा माध्यमिक तथा आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत ९० जना किशोरीलाई खोप लगाइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो। उहाँका अनुसार माघ २८, २९ र फागुन १ गतेसम्म तीन दिनसम्म खोप अभियान सञ्चालन हुनेछ। उहाँले विद्यालयमै पुगेर खोप प्रदान गर्ने व्यवस्था मिलाइएको बताउनुभयो।
“गाउँपालिकाका सबै तोकिएका विद्यालयमा पुगेर एचपिभी खोप लगाइनेछ,”उहाँले भन्नुभयो, “विद्यालय बाहिर रहेका सोही उमेर समूहका किशोरीलाई पनि अभियानमा समेटिनेछ।”विद्यालय बाहिर रहेका किशोरी छुट्न नदिन गाउँपालिकाले घरधुरी सर्वेक्षण सुरु गरेको छ। महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीमार्फत किशोरीको तथ्याङ्क सङ्कलन भइरहेको स्वास्थ्य शाखाले जनाएको छ। यसले खोप पहुँच नपुग्ने जोखिम न्यूनीकरण हुने विश्वास गरिएको छ।
स्वास्थ्यकर्मीका अनुसार पाठेघरको मुखको क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक हो। समयमै खोप नलगाइएमा सङ्क्रमणको जोखिम बढ्ने भएकाले किशोरी अवस्थामै एचपिभी खोप अत्यन्त प्रभावकारी हुने जनाइएको छ। खोपले भविष्यमा हुने क्यान्सरको जोखिम घटाउने चिकित्सकको भनाइ छ।
नेपाल सरकारले सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सर नियन्त्रण गर्ने लक्ष्य लिएको छ। सो लक्ष्यअनुसार देशभर एचपिभी खोप अभियान, भिआइए परीक्षण तथा प्रारम्भिक उपचार कार्यक्रम सञ्चालन हुँदै आएका छन्। स्थानीय तहको सक्रियताले यी कार्यक्रम प्रभावकारी बन्दै गएका छन्।
पौवादुङमा गाउँपालिकाले यस अभियानलाई प्राथमिकतामा राख्दै सबै किशोरीलाई खोपको पहुँचमा पु¥याउने लक्ष्य लिएको जनाएको छ। स्थानीय जनप्रतिनिधि, विद्यालय प्रशासन र अभिभावकको सहकार्यमा अभियान सफल बनाउने तयारी गरिएको गाउँपालिकाले जानकारी दिएको छ। स्वास्थ्य शाखाका अनुसार खोप अभियानसँगै पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिनेछ।
किशोरी, अभिभावक र शिक्षकलाई लक्षित गरी क्यान्सरको जोखिम, रोकथाम र उपचार विधिबारे जानकारी दिइने योजना छ। गाउँपालिकाको यो पहलले ग्रामीण क्षेत्रमा किशोरीको स्वास्थ्य सुरक्षा मजबुत बनाउने र दीर्घकालमा महिलामा देखिने क्यान्सरको जोखिम घटाउने विश्वास लिइएको छ।रासस
