चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना परिणाम आउने क्रम जारी छ । १६५ निर्वाचन क्षेत्रमा भएको प्रत्यक्षतर्फको निर्वाचनमा केही चिकित्सकहरू पनि विजयी भएका छन् । त्यसमध्ये एक हुन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. शम्भुकुमार यादव । सिराहा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. शम्भुकुमार यादवले ३२ हजार २४९ मत ल्याएका छन् ।
४० वर्षीय डा. यादव स्थानीय स्तरमा स्वास्थ्य सेवा र समाजिक उत्तरदायित्व दुवै क्षेत्रमा परिचित छन् । बाल्यकालदेखि नै पढाइप्रति रुचि राख्ने उनले विद्यालय तहको शिक्षा सिरहा नगरपालिका–१६ मा रहेको लालजी–शकुन्तला माध्यमिक विद्यालयबाट पूरा गरेका थिए । उनले २०५७ सालमा उक्त विद्यालयबाट एसएलसी (तत्कालीन प्रवेशिका) उत्तीर्ण गरे ।
विद्यालय शिक्षा पूरा गरेपछि चिकित्सा क्षेत्रमा भविष्य बनाउने लक्ष्यसहित उनी उच्च अध्ययनका लागि भारत गए । भारतको जयनगर हुँदै पटना पुगेका उनले २०६७ सालमा एमबीबीएस उत्तीर्ण गरे । चिकित्सा शिक्षाको कठिन यात्रापछि उनी नेपाल फर्किएर स्वास्थ्य सेवामा सक्रिय भए ।
नेपाल फर्किएपछि केही समय काठमाडौंका निजी अस्पतालमा काम गरे । त्यसपछि उनी सिरहा फर्किए । सिरहाका धेरै बिरामी उपचारका लागि टाढा–टाढासम्म धाउनुपर्ने अवस्थालाई नजिकबाट देखेका डा. यादवले अन्ततः आफ्नै जिल्ला फर्किने निर्णय गरे । त्यसपछि यादव सिरहाको मिर्चैया नगरपालिका–७ मा रहेको मिर्चैया हेल्थ पोलिक्लिनिकमार्फत सेवा दिँदै आएका थिए ।
