नेपालमा अझै पनि जन्मजात अनुहार तथा टाउकोसम्बन्धी विकृतिलाई लिएर अज्ञानता, लाज र सामाजिक बहिष्कार व्याप्त छ । यस्ता समस्याबाट पीडित बालबालिका केवल शारीरिक पीडामै सीमित हुँदैनन्, उनीहरूले आत्मविश्वास गुमाउने, विद्यालय जान हिच्किचाउने र समाजबाट अलग्गिनु पर्ने अवस्था झेल्नुपर्छ । यही यथार्थको बीच जनकपुरधाममा सञ्चालित क्रेनियोफेसियल सेन्टरले यस समस्याबाट प्रभावित बालबालिकाका लागि आशाको ढोका खोलेको छ । मधेस प्रदेश तथा आसपासका जिल्लाका आर्थिकरुपमा कमजोर परिवारका बालबालिकालाई लक्षित गर्दै यो केन्द्रले जन्मजात अनुहार विकृतिको उपचार, परामर्श र पुनर्स्थापनामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
क्रेनियोफेसियल समस्या लुकाइने होइन
क्रेनियोफेसियल समस्या लुकाउने होइन, यो उपचारको लागि सम्भव भएको स्वास्थ्य समस्या हो । क्रेनियोफेसियल समस्या भन्नाले टाउको र अनुहारको संरचनामा देखिने जन्मजात वा पछि विकसित विकृतिलाई बुझिन्छ । यसमा ओठ तथा तालु फाटेको, च्यापुको असमान वृद्धि, अनुहारको अस्वाभाविक बनावट, कान–नाक–घाँटीसम्बन्धी संरचनागत समस्याहरू पर्छन् । ग्रामीण भेगमा यस्ता समस्या भएका बालबालिकालाई अझै पनि ‘दैवी दोष’, ‘पापको फल’ वा ‘अभिशाप’ का रूपमा हेर्ने मानसिकता कायमै छ । यही गलत धारणाका कारण धेरै बालबालिका समयमै उपचारबाट वञ्चित हुँदै आएका छन् ।
जनकपुरमा नै किन क्रेनियोफेसियल सेन्टर
मधेस प्रदेशमा जनसंख्या धेरै भए पनि विशेष स्वास्थ्य सेवा सीमित छन् । काठमाडौं केन्द्रित उपचार प्रणालीका कारण गरिब तथा सीमान्तकृत परिवारका लागि राजधानी पुगेर उपचार गराउनु लगभग असम्भव जस्तै हुन्छ । यही अवस्थालाई मध्यनजर गर्दै जनकपुरमा क्रेनियोफेसियल सेन्टर स्थापना गरिएको हो । यस केन्द्रको मूल उद्देश्य जन्मजात अनुहार विकृतिबाट पीडित बालबालिकालाई उनीहरूको नजिकै गुणस्तरीय, सुरक्षित र किफायती उपचार उपलब्ध गराउनु हो ।
सेन्टरका मुख्य उद्देश्य
क्रेनियोफेसियल सेन्टर जनकपुरले निम्न उद्देश्यलाई केन्द्रमा राखेर सेवा दिँदै आएको छ :
0 ओठ तथा तालु फाटेकोसहित सबै क्रेनियोफेसियल समस्याको समयमै पहिचान गर्ने ।
0 आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निःशुल्क वा न्यून शुल्कमा उपचार गर्ने ।
0 बहुविषयगत (Multidisciplinary) उपचार प्रणालीमार्फत दीर्घकालीन समाधान गर्ने ।
0 बिरामी र अभिभावकमा रोगसम्बन्धी सही जानकारी र आत्मविश्वास विकास गर्ने ।
संस्थाले गरेका प्रमुख कार्यहरू
१. ओठ तथा तालु फाटेको समस्या भएकालाई सेवा : ओठ तथा तालु फाटेको समस्या भएका सैयौं बालबालिकाको सफल शल्यक्रिया निःशुल्करुपमा गरिसकेको छ । सही उमेरमा गरिएको शल्यक्रियाले बालबालिकाको बोली, खानपान र अनुहारको बनावटमा उल्लेखनीय सुधार ल्याएको छ । धेरै परिवार आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुने अवस्थालाई ध्यानमा राख्दै सेन्टरले निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।
२. विशेषज्ञ टोलीद्वारा एकीकृत उपचार : यहाँ प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जन, दन्त चिकित्सक, नाक–कान–घाँटी विशेषज्ञ, नर्स तथा स्पिच थेरापिस्टको टोली मिलेर उपचार गरिन्छ । यसले शल्यक्रिया मात्र होइन, उपचारपछिको दीर्घकालीन हेरचाहलाई पनि सुनिश्चित गरेको छ ।
३. ग्रामीण क्षेत्रमा नियमित स्वास्थ्य शिविर : यो संस्थामार्फत धेरै अभिभावकलाई आफ्ना बालबालिकाको समस्या उपचार सम्भव छ भन्ने थाहा नै नहुने भएकाले सेन्टरले ग्रामीण क्षेत्र लक्षित स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसले गर्दा शिविरमार्फत प्रारम्भिक जाँच, परामर्श र आवश्यक बिरामीलाई जनकपुर ल्यााएर उपचारको व्यवस्था गरिन्छ ।
४.अभिभावक परामर्श सेवा : जन्मजात विकृतिका कारण अभिभावक मानसिक तनाव, अपराधबोध र डरमा बाँचिरहेका हुन्छन् । सेन्टरले अभिभावकलाई रोगको कारण, उपचार प्रक्रिया र भविष्यका सम्भावनाबारे स्पष्ट जानकारी दिँदै मनोसामाजिक परामर्श कार्यपनि प्रदान गर्दै आइरहेको छ ।
५. स्पिच थेरापी र पुनर्स्थापनाको कार्य : शल्यक्रियापछि धेरै बालबालिकामा बोलीसम्बन्धी समस्या देखिने भएकाले सेन्टरमा स्पिच थेरापी सेवा सञ्चालन गरिएको छ । यसले बालबालिकालाई विद्यालय र समाजमा सहजरूपमा घुलमिल हुन मद्दत गरेको छ ।
६. जनचेतनामूलक अभियान : क्रेनियोफेसियल समस्या अभिशाप होइन, उपचारयोग्य स्वास्थ्य समस्या हो भन्ने सन्देश फैलाउन समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गरिन्छ । यसले सामाजिक विभेद घटाउन महत्वपूर्ण योगदान पुर्याएको छ ।
संस्थाका सामाजिक प्रभाव
क्रेनियोफेसियल सेन्टर जनकपुरले उपचार मात्र होइन, सोच परिवर्तनको अभियान पनि चलाइरहेको छ । अनुहार विकृतिका कारण लुकाइएका बालबालिका उपचारपछि विद्यालय फर्किएका छन् । परिवारमा निराशाको ठाउँमा आशा पलाएको छ । यो केन्द्रले “अनुहार फरक भए पनि अधिकार समान हुन्छ” भन्ने सन्देश समाजमा स्थापित गर्न भूमिका खेलेको छ ।
चुनौतीहरू
सेन्टरले उल्लेखनीय काम गरे पनि चुनौतीहरू कायमै छन् । सीमित बजेट, विशेषज्ञ जनशक्तिको अभाव र बढ्दो बिरामीको चाप प्रमुख चुनौतीकारूपमा देखिएको हाम्रो अनुभूति रहेका छन् ।
संस्थाका आगामी योजना
आगामी दिनमा यस सेन्टरले थप विशेषज्ञ सेवा विस्तार, आधुनिक प्रविधि भित्र्याउने, देशका विभिन्न क्षेत्रमा रेफरल सेन्टरका रुपमा विकास गर्ने र सरकारी तहसँग सहकार्य बढाउने लक्ष्य लिएको छ । जनकपुरस्थित क्रेनियोफेसियल सेन्टर नेपालका लागि केवल एक स्वास्थ्य संस्था मात्र होइन, मानवीय संवेदना र सामाजिक न्यायको उदाहरण पनि हो । जन्मजात अनुहार विकृतिलाई लुकाएर होइन, उपचार गरेर जीवन बदल्न सकिन्छ भन्ने प्रमाण यस केन्द्रले दिइरहेको अवस्था छ ।
सरकारी, निजी तथा सामाजिक क्षेत्रको सहकार्य बढेमा यो सेन्टर हजारौं बालबालिकाको जीवनमा मुस्कान फर्काउने केन्द्र बन्ने निश्चित छ । यस पुण्य कार्यमा सबैको साथ र सहयोगी हात आवश्यक छ ।
