मानव शरीरका विभिन्न ग्रन्थिहरूमध्ये थाइराइड ग्रन्थि अत्यन्तै महत्वपूर्ण मानिन्छ । घाँटीको अगाडिको भागमा रहेको यो सानो ग्रन्थिले शरीरको मेटाबोलिज्म नियन्त्रण गर्ने हर्मोन उत्पादन गर्छ । यही हर्मोेनको असन्तुलनका कारण उत्पन्न हुने समस्यालाई थाइराइड रोग भनिन्छ । पछिल्ला वर्षहरूमा नेपालमा पनि थाइराइड रोगीको संख्या उल्लेखनीयरुपमा बढ्दै गएको छ ।
थाइराइड के हो ?
थाइराइड ग्रन्थिले मुख्यतः T3 र T4 नामक हर्मोन उत्पादन गर्छ । यी हर्मोनले शरीरको ऊर्जा खर्च, तौल नियन्त्रण, मुटुको धड्कन, मानसिक अवस्था, प्रजनन् क्षमता जस्ता कार्यलाई सन्तुलनमा राख्ने गर्दछ ।
थाइराइड रोगका प्रकार
थाइराइड रोग मुख्यतः तीन प्रकारका छन् :
१. हाइपोथाइराइडिज्म (Hypothyroidism)
यो थाइराइड हर्मोन कम उत्पादन हुँदा हुने अवस्था हो ।
यसका लक्षणहरू :
अत्यधिक थकान, तौल बढ्नु ,जाडो बढी लाग्नु ,कपाल झर्नु, कब्जियत र महिलामा महिनावारी गडबडी समेत हुने गर्छ ।
२. हाइपरथाइराइडिज्म (Hyperthyroidism)
यो थाइराइड हर्मोन अत्यधिक उत्पादन हुँदा हुने समस्या हो ।
यसका लक्षणहरू :
तौल घट्नु, मुटुको धड्कन बढ्नु, हात काँप्नु, धेरै पसिना आउनु, चिडचिडापन देखिनु र निद्रा नलाग्नु आदि ।
३. गलगाँड (Goiter)
यो अवस्था भनेको थाइराइड ग्रन्थि अस्वाभाविकरुपमा बढ्नु हो, जसले घाँटी सुन्निने समस्या देखा पार्दछ ।
थाइराइड देखा पर्नुका कारणहरू
आयोडिनको कमी वा बढी सेवन, वंशाणुगत कारण, अटोइम्युन रोग, गर्भावस्था तथा सुत्केरी अवस्था साथै अत्यधिक तनावको अवस्था भएमा ।
उपचार पद्धति
१. औषधि उपचार : हाइपोथाइराइडमा थाइरोक्सिन ट्याब्लेट, हाइपरथाइराइडमा एन्टीथाइराइड औषधि हुन् । यी औषधि चिकित्सकको सल्लाहअनुसार नियमित सेवन गर्नुपर्छ ।
२. रेडियो आयोडिन उपचार : यो उपचार अत्यधिक सक्रिय थाइराइडलाई नियन्त्रण गर्न प्रयोग गरिन्छ ।
३. शल्यक्रिया : थाइराइड धेरै ठूलो भएको वा क्यान्सरको आशंका भएमा शल्यक्रियामार्फत उपचार अगाडि बढाउने गरिन्छ ।
जीवनशैली र खानपानमा ध्यान
सन्तुलित आहार ,आयोडिनयुक्त नुनको उचित प्रयोग, नियमित व्यायाम, तनाव व्यवस्थापन
धूम्रपान र मदिरा त्याग आदि थाइराइडको समस्याबाट बच्न ध्यान दिनुपर्ने कुराहरू हुन् ।
समयमै उपचार किन आवश्यक ?
थाइराइडलाई समयमै उपचार नगरी बेवास्ता गरिएको अवस्थामा तल उल्लेखित स्वास्थ्य समस्याहरू देखा पर्ने गर्दछन् ।
मुटु रोग, बाँझोपन, गर्भपतन, मानसिक समस्या जस्ता जटिल स्वास्थ्य समस्या देखिन सक्छन् । त्यस कारण थाइराइड रोग सानो ग्रन्थिको समस्या भए पनि यसको असर सम्पूर्ण शरीरमा पर्छ । समयमै परीक्षण, नियमित औषधि सेवन र स्वस्थ जीवनशैली अपनाउन सकेमा थाइराइड रोग भए पनि सामान्य जीवन बिताउन सकिन्छ ।
जनचेतना र नियमित स्वास्थ्य जाँच नै थाइराइड नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो । अनुशासित जीवनशैलीलाई दैनिकरुपमा अवलम्बन गर्नु अति राम्रो हुन्छ ।
