काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि आगामी आर्थिक वर्षको बजेट सिलिङ घटेको छ । नयाँ सिलिङअनुसार स्वास्थ्य बीमा सहित कुल ४३ अर्ब २६ करोड १८ लाख रुपैयाँको सीमा तोकिएको छ, जुन अघिल्लो वर्षको तुलनामा धेरै नै कमी हो ।
स्वास्थ्य मन्त्रालयले चालु तर्फ ३१ अर्ब ९३ करोड ७८ लाख र पुँजीगत तर्फ ११ अर्ब ३२ करोड ४० लाखको बजेट सिलिङ पाएको छ । राष्ट्रिय योजना आयोगले तोकेको नयाँ सिलिङअनुसार मन्त्रालयको बजेटको सिलिङ अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ मा मन्त्रालयले स्वास्थ्य बीमा सहित ५६ अर्ब रुपैयाँको सिलिङ पाएको थियो। सुरुमा ५२ अर्ब ५२ करोडको सिलिङ पाएको मन्त्रालयले पछि बढेर ५६ अर्ब पाएको थियो ।
गत वर्ष पाएको सिलिङका आधारमा हेर्दा आगामी वर्षका लागि बजेट सिलिङ करिब १२ अर्ब ७३ करोडले घटेको देखिन्छ, जुन प्रतिशतमा करिब २३ प्रतिशत कमी हो ।
रास्वपाले बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनाउने घोषणा गरिसकेको छ तर नयाँ सरकार बन्ने दिन नजिकिँदै जाँदा स्वास्थ्यले भने गत वर्षको भन्दा २३ प्रतिशत कम बजेट सिलिङ पाएसँगै स्वास्थ्य क्षेत्रका नियमित कार्यक्रम प्रभावित हुने चिन्ता मन्त्रालयभित्र देखिएको छ ।
