स्वस्थ समाजका लागि हरेक नागरिकमा स्वस्थ्य मुटु हुन आवश्यक छ । त्यसकारण हामीले १३ वर्षदेखि विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरूको र विगत एक वर्षदेखि शिक्षकहरूमा मुटु सम्बन्धी रोग छ कि छैन भनेर स्क्रिनिङ गर्दै आएका छौँ । स्क्रिनिङ भनेको रोग देखिनुअघि नै गरिने परीक्षण प्रक्रिया हो । यस अन्तर्गत उच्च रक्तचाप छ कि छैन, मधुमेह भएको छ कि छैन जस्ता जोखिम कारकहरूको निःशुल्क परीक्षण गरिन्छ । साथै, मुटुको समग्र अवस्था कस्तो छ भनेर हेर्नका लागि मुटुको भिडियो एक्सरे (इको) पनि गरिन्छ ।
मुटुको भल्भमा समस्या, लिक्विड जम्मा हुनु, साँघुरोपन देखिनु, मुटुको बाहिरी पत्र कमजोर हुनु (कार्डियोमायोप्याथी), मुटुमा पानी जम्मा हुनु तथा धड्कनसम्बन्धी अन्य समस्या भए इको परीक्षणबाट पत्ता लाग्छ । शिक्षकहरू जीवनमार्ग देखाउने मार्गदर्शक भएकाले उनीहरू स्वस्थ हुनु अत्यन्त आवश्यक हुन्छ ।
म स्वयं विद्यार्थी जीवनबाट सङ्घर्ष गर्दै डाक्टर बन्नेसम्मको यात्रामा आएकोले शिक्षकहरूको ठुलो योगदान रहेको अनुभव गर्छु । विद्यालयदेखि लिएर आइएस्सी, एमबीबीएस, एमडी र डिएमसम्म पुग्दा प्रत्येक तहमा शिक्षकहरूको मार्गदर्शनले मलाई मात्र होइन, हरेक व्यक्तिलाई सक्षम बनाएको हो भन्ने महसुस गरेको छु । यही कारणले हामीले शिक्षकहरूलाई पनि स्क्रिनिङको दायरामा ल्याउनुपर्छ भन्ने सोच बनायौँ ।
माथि उल्लेख गरिएझैँ केही वर्षदेखि हामी विद्यालयहरूमा बच्चाहरूको स्क्रिनिङ गर्दा सँगसँगै शिक्षकहरूको पनि स्क्रिनिङ गर्दा विशेषगरी इको मेसिनद्वारा नै गर्ने अभियान सञ्चालन गरिरहेका छौँ । यस अभियानलाई अझ प्रभावकारीरुपमा अगाडि बढाउने हाम्रो लक्ष्य छ ।
यो अभियान मुख्य गरी बागमती प्रदेशभित्रका चितवन र आसपासका जिल्लामा अध्ययनरत करिब ९० हजार विद्यार्थी र शिक्षकहरूको निःशुल्क मुटुको स्क्रिनिङ गरिसकिएको छ । हालसम्म शिक्षकहरूको स्वास्थ्यसम्बन्धी विशिष्ट डाटा नेपालमा खासै उपलब्ध छैन । हामीले उहाँहरूको डाटा राख्ने प्रयास गरिरहेका छौं । सामान्यरुपमा मधुमेह, उच्च रक्तचाप जस्ता डाटा त विभिन्न व्यक्तिहरूको पाइन्छ, तर शिक्षकहरू भन्ने विशेष समूहलाई लक्षित गरेर गरिएको अध्ययन भने दुर्लभ देखिन्छ ।
शिक्षकहरू नै देशलाई डाक्टर, इन्जिनियर तथा अन्य पेशामा प्रेरित गर्ने समूह भएकाले उनीहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्क्रिनिङ अभियानलाई अझ विस्तार गर्दै विभिन्न विद्यालय तथा समुदायहरूमा यस कार्यलाई अगाडि बढाउने योजना बनाएका छौँ । आम नागरिकले आफ्नो र साना बालबालिकाहरूको मुटु स्वास्थ्यबारे आजैबाट ध्यान दिनु आवश्यक छ ।
