पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटन क्षेत्रसँगै पश्चिम नेपालको प्रमुख स्वास्थ्य केन्द्रका रूपमा विकसित हुँदै गएको स्वास्थ्य नगरी हो । यही सुन्दर सहरमा बाल्यकाल विताउनुका साथै विद्यालय तहका सबै अध्ययन समेत पोखराबाटै गर्नुभएका वरिष्ठ चिकित्सक डा.वसन्त ताम्राकारले एमबिबिएस र जनरल मेडिसिनमा एमडी तहको चिकित्सा अध्ययन पाकिस्तानबाट गर्नु भएको हो । नाम वसन्त जस्तै चिकित्सा क्षेत्रमा पनि सन्त स्वभावका उहाँ बिरामीहरूको रोग पहिचान र उपचारसँगै उनीहरूको मनोभावना बुझ्ने र पारिवारिक वातावरणमा उपचार दिने चिकित्सकीय शैलीका कारण बिरामीका प्रिय चिकित्सकको रुपमा स्थापित हुनुहुन्छ डा. ताम्राकार ।
सरकारी सेवामा रहँदा नेपालका सुगम र दुर्गम सबैजसो ठाउँमा बसी जनताको सेवामा लाग्नुभएका डा. ताम्राकारले आफ्नो सरकारी सेवाको अवकास हालको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाट लिनुभएको हो । डा. वसन्त ताम्राकार पेशाले मेडिकल चिकित्सक भए पनि उहाँमा समाजका हरेक विषयमा चासो लिने र समाजका लागि केही गर्नुपर्छ भन्ने असल भावना छ । उनी सहयोगी हृदयका वरिष्ठ चिकित्सकको रुपमा पोखरेली समुदायबीच परिचित हुनुहुन्छ । उहाँले स्वास्थ्य क्षेत्रमा खोज, अनुसन्धानलगायत सर्ने र नसर्ने रोगका बारेमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ ।
लामो समयदेखि जनरल मेडिसिन विधामार्फत एचआईभी तथा एड्स, कोभिड–१९ तथा अन्य विविध स्वास्थ्य सेवाको क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आउनुभएका डा. ताम्राकार एक अनुभवी, समर्पित र प्रेरणादायी चिकित्सकका रुपमा स्थापित हुनुहुन्छ । उहाँको सेवा केवल रोग उपचारमा सीमित नरही स्वास्थ्य सचेतना, मानवीय संवेदना र संकटकालीन नेतृत्वसम्म फैलिएको छ ।
जनरल मेडिसिनमा प्रेरणादायी भूमिका
डा. वसन्त ताम्राकारले जनरल मेडिसिनलाई स्वास्थ्य सेवाको आधारस्तम्भका रुपमा लिँदै काम गर्दै आउनुभएको छ । ज्वरो, संक्रमणजन्य रोग, उच्च रक्तचाप, मधुमेह, दम, पाचन प्रणालीका समस्या तथा दीर्घ र जीवनशैलीसँग सम्बन्धित रोगहरूको प्रारम्भिक पहिचान र व्यवस्थापनमा उहाँको भूमिका निकै प्रेरणादायी देखिन्छ । उहाँको भनाइ छ, “जनरल मेडिसिन भनेको सबै रोगको पहिलो ढोका हो । यहीँ सही निर्णय लिन सकियो भने बिरामीलाई गम्भीर अवस्थासम्म पुग्नबाट रोक्न सकिन्छ ।” समग्र स्वास्थ्य अवस्थालाई केन्द्रमा राखेर उपचार गर्ने उहाँको अभ्यासले बिरामीको दीर्घकालीन स्वास्थ्य सुधारमा उल्लेखनीय योगदान पुर्याएको छ ।
एचआईभी तथा एड्स क्षेत्रमा सेवा
कुनै बेला यस्तो समय थियो जहाँ एचआईभी संक्रमित र अन्य भाइरसबाट प्रभावित व्यक्तिको उपचारमा ठूलो विभेदको अवस्था थियो । ती दिनमा डा. वसन्त एचआईभी संक्रमित व्यक्ति र तिनका परिवारका सेवामा बिहानको घामको किरण जस्तै बनेर सेवामा लागि पर्नुभयो । समाजमा अझै पनि भ्रम, डर र विभेदले घेरिएको एचआईभी तथा एड्स क्षेत्रमा डा. ताम्राकारको योगदान विशेषरुपमा उल्लेखनीय मानिन्छ । उहाँले यस रोगलाई वैज्ञानिक, नैतिक र मानवीय दृष्टिकोणबाट सम्बोधन गर्दै परीक्षण, परामर्श, उपचार र सहयोगमा निरन्तर सेवा प्रदान गर्दै आउनुभएको छ । उहाँको स्पष्ट भनाइ छ, “एचआईभी आज उपचारयोग्य दीर्घ अवस्था हो । सही जानकारी, नियमित औषधि र सकारात्मक सोच भएमा संक्रमित व्यक्ति पनि सामान्य र सम्मानित जीवन बाँच्न सक्छ ।” एचआईभी संक्रमित व्यक्तिको गोपनीयता, आत्मसम्मान र सामाजिक स्वीकार्यतालाई प्राथमिकता दिनु उहाँको सेवाको महत्वपूर्ण पक्ष हो ।
कोभिड–१९ महामारीमा अग्रपंक्तिमा रही योगदान
संसारभर कोभिड–१९ महामारीका कठिन र चुनौतीपूर्ण दिनहरूमा पोखरामा रही डा. वसन्त ताम्राकार बिरामीहरूको अग्रपंक्तिमा रहेर सेवा दिने चिकित्सकमध्ये एक हुनुहुन्छ । जोखिम, स्रोतसाधनको अभाव र मानसिक तनावका बीच पनि उहाँले बिरामीको उपचार, होम आइसोलेसन परामर्श, दीर्घरोगीको विशेष हेरचाह तथा जनचेतनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उहाँ भन्नुहुन्छ, “कोभिड महामारीले चिकित्सकलाई उपचारकर्ता मात्र होइन, समाजप्रति उत्तरदायी अभियन्ता पनि बनायो ।” महामारीका बेला देखाएको उहाँको साहस, समर्पण र सेवाभाव पोखरावासीका लागि प्रेरणादायी बन्यो ।
बिरामीमैत्री व्यवहार र विश्वासको सम्बन्ध
डा. ताम्राकारको उपचार शैलीको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको बिरामीमैत्री व्यवहार हो । उहाँ बिरामीको समस्या धैर्यपूर्वक सुन्नुहुन्छ, रोगको अवस्था सरल र स्पष्ट भाषामा बुझाउनुहुन्छ र उपचार प्रक्रियामा विश्वासको वातावरण सिर्जना गर्नुहुन्छ ।
“डा. ताम्राकारसँग उपचार गराउँदा डर हटेर आत्मविश्वास आउँछ । उहाँले रोगभन्दा पहिले बिरामीको मन बुझ्नुहुन्छ ।” डा. ताम्राकारले उपचार गरेका बिरामीहरूको यस्तै प्रतिक्रियाले उहाँलाई पोखरामा विश्वासिला चिकित्सकका रुपमा स्थापित गरेको छ । उहाँले दीर्घ रोगको व्यवस्थापन, जीवनशैली सुधार, औषधिको सही प्रयोग, नियमित स्वास्थ्य परीक्षण तथा रोग निवारणसम्बन्धी सचेतनामा निरन्तर जोड दिनुहुन्छ । उहाँको भनाइमा, “औषधिले मात्र होइन, सचेत जीवनशैलीले नै स्वास्थ्य सुरक्षित हुन्छ ।”
ग्रामीण र कमजोर समुदायका बिरामीप्रति प्रेमभाव
पोखरा आसपासका ग्रामीण क्षेत्र तथा आर्थिकरुपमा कमजोर वर्गका बिरामीहरूका लागि पनि डा. ताम्राकार आशाको केन्द्र बन्नुभएको छ । सीमित स्रोतसाधन भएका बिरामीलाई पनि सम्भव उपचार र उचित परामर्श उपलब्ध गराउने उहाँको प्रयासले स्वास्थ्य सेवामा समावेशिता र समानताको सन्देश दिएको छ । “स्वास्थ्य सेवा भनेको सुविधा नभई सबै नागरिकको आधारभूत अधिकार हो” भन्ने विचारबाट प्रभावित हुनुहुन्छ डा. ताम्राकार ।
पोखरामा डा. वसन्त ताम्राकारले जनरल मेडिसिन, एचआईभी तथा एड्स, कोभिड–१९ तथा अन्य स्वास्थ्य सेवाको क्षेत्रमा पुर्याउनुभएको योगदान बहुआयामिक र प्रेरणादायी छ । उपचार, परामर्श, संकटकालीन सेवा र स्वास्थ्य सचेतनालाई एकैसाथ अघि बढाउँदै उहाँले स्वास्थ्य सेवामा मानवीय र वैज्ञानिक दृष्टिकोण स्थापित गर्नुभएको छ । यस अर्थमा डा. वसन्त ताम्राकार पोखराको स्वास्थ्य क्षेत्रमा केवल एक चिकित्सक मात्र नभई विश्वास, सेवा र समर्पणको प्रतीकका रुपमा स्थापित व्यक्तित्व हुनुहुन्छ ।
आफ्नो चिकित्सकीय पेशालाई संस्थागत र विधागतरुपमा विकास गर्दै डा. ताम्राकार नयाँ पुस्तालाई आफूले सिकेका र गर्न बाँकी रहेका स्वास्थ्य क्षेत्रका कार्ययोजनाहरू पुस्तान्तरण अभियानमा लाग्नुभएको छ । नाम वसन्त जस्तै पेशागत कार्यमा पनि सबैको मनमुटुमा बस्न सफल वरिष्ठ चिकित्सक डा. वसन्त ताम्राकारको पेशागत यात्रा थप सक्रिय र प्रभावकारी बन्दै जानेमा हाम्रो आशा र विश्वास छ ।
