पछिल्ला वर्षहरूमा नेपालमा पनि रक्त क्यान्सर (ब्लड क्यान्सर) का बिरामीको संख्या बढ्दै गइरहेको अवस्था छ । यस रोगमा प्रायः सुरुमा सामान्य थकान, ज्वरो वा कमजोरी जस्ता लक्षण देखिने भएकाले धेरैजसो बिरामी ढिला अस्पताल आउने गर्नुहुन्छ । तर समयमै पहिचान र उपचार भएमा रक्त क्यान्सरबाट ज्यान जोगाउन सकिन्छ ।
रक्त क्यान्सर के हो ?
रक्त क्यान्सर भनेको शरीरमा रगत बन्ने प्रक्रिया असन्तुलित हुँदा उत्पन्न हुने क्यान्सर हो । यसले मुख्य रुपमा बोनम्यारो, रगत तथा लिम्फ प्रणालीलाई असर गर्छ । यस रोगमा असामान्य रक्तकोषहरू अनियन्त्रित रुपमा बढ्न थाल्छन्, जसले स्वस्थ रक्तकोषलाई नष्ट गर्दै शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउने गर्दछ ।
रक्त क्यान्सर लाग्नुका कारण
रक्त क्यान्सर लाग्नुको एउटै निश्चित कारण भने छैन । तर विभिन्न अध्ययन र अनुभवका आधारमा केही जोखिम कारक भने पहिचान गरिएको छ ।
अनुवांशिक जोखिम : परिवारमा कसैलाई रक्त क्यान्सर भएको इतिहास भएमा अन्य सदस्यमा पनि यसको सम्भावना बढ्न सक्छ ।
विकिरणको असर : अत्यधिक रेडिएसनको सम्पर्क (जस्तै : बारम्बार एक्स–रे, रेडियोथेरापी वा आणविक विकिरण) रक्त क्यान्सरको जोखिम बढाउने प्रमुख कारण मानिन्छ ।
रासायनिक पदार्थ : बेन्जिन जस्ता औद्योगिक रसायन, कीटनाशक औषधि तथा विषादीसँग लामो समय सम्पर्कमा रहने व्यक्तिमा रक्त क्यान्सर देखिने सम्भावना बढी हुन्छ ।
कमजोर प्रतिरक्षा प्रणाली : एचआइभी संक्रमण, दीर्घकालीन रोग, लामो समय स्टेरोइड औषधि सेवन वा किमोथेरापीका कारण प्रतिरक्षा प्रणाली कमजोर हुँदा रक्त क्यान्सरको खतरा बढ्छ ।
अस्वस्थ जीवनशैली : धूम्रपान, मदिरा सेवन, असन्तुलित खानपान र शारीरिक निष्क्रियताले क्यान्सरको जोखिम बढाउने स्वास्थ्य विज्ञहरू बताउँछन् ।
रक्त क्यान्सरका लक्षणहरू
रक्त क्यान्सरका लक्षण सुरुमा सामान्य रोगसँग मिल्दोजुल्दो हुने भएकाले बेवास्ता गरिनु खतरनाक हुन सक्छ । यसका लक्षणहरू तल उल्लेख गरिएका छन् ।
– बारम्बार ज्वरो आउनु
– लामो समयसम्म थकान र कमजोरी हुनु
– अचानक तौल घट्नु
– छाला फिक्का देखिनु
– नाक, गिँजा वा शरीरका अन्य भागबाट रगत बग्नु
– शरीरमा निलडाम देखिनु
– घाँटी, काखी वा कम्मरमा गाँठो पलाउनु
– हड्डी तथा जोर्नी दुखाइ महसुस हुनु
यस्ता लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा जाँच गराउन आवश्यक छ ।
रक्त क्यान्सरबाट बच्ने उपाय
सबै प्रकारका रक्त क्यान्सर पूर्णरूपमा रोक्न सकिँदैन, तर जोखिम कम गर्न सकिने उपायहरू भने अवश्य छन् ।
स्वस्थ जीवनशैली : सन्तुलित आहार, ताजा फलफूल, हरियो सागसब्जी, प्रशस्त पानी र नियमित व्यायामले शरीरको प्रतिरक्षा शक्ति बलियो बनाउने गर्दछ ।
धूम्रपान र मदिरा परित्याग : धूम्रपान र अत्यधिक मदिरा सेवन क्यान्सरका मुख्य कारण भएकाले यी बानी त्याग्नु अत्यन्त आवश्यक छ ।
रसायन र विकिरणबाट सावधानी अपनाउने : अनावश्यक एक्स–रे नगर्ने, रसायन प्रयोग गर्दा सुरक्षात्मक उपाय अपनाउने बानी विकास गर्नुपर्छ ।
नियमित स्वास्थ्य परीक्षण : समय–समयमा रगत परीक्षण गराउँदा रोग प्रारम्भिक चरणमै पत्ता लाग्न सक्छ, जसले उपचारलाई प्रभावकारी बनाउँछ ।
संक्रमणबाट जोगिने : स्वच्छता अपनाउने, खोप लगाउने र भिडभाडमा सावधानी अपनाउँदा प्रतिरक्षा प्रणाली सुरक्षित रहन्छ ।
रक्त क्यान्सर गम्भीर रोग भए पनि डराएर बस्नुपर्ने अवस्था होइन । समयमै पहिचान, सही उपचार र सकारात्मक जीवनशैली अपनाएमा यस रोगसँग लड्न सकिन्छ । स्वास्थ्यप्रति सचेत रहनु नै रक्त क्यान्सरबाट बच्ने सबैभन्दा प्रभावकारी र उत्तम उपाय हो ।
