थाइराइड ग्रन्थिको कार्यक्षमता कम हुँदा देखिने रोग हाइपोथाइराइडिज्म पछिल्लो समय धेरै मानिसमा देखिन थालेको छ । वरिष्ठ फिजिसियन डा. महेन्द्रकुमार अग्रहरिका अनुसार, यो समस्या सुरुवाती चरणमा सामान्य जस्तो लागे पनि समयमै पहिचान नगरे गम्भीर स्वास्थ्य असर निम्त्याउन सक्छ ।
डा. अग्रहरिका अनुसार हाइपोथाइराइडिज्मका मुख्य लक्षणहरू अत्यधिक थकान, शरीर सुस्त हुनु, तौल बढ्दै जानु, चिसो बढी महसुस हुनु हुन् । त्यस्तै, छाला सुक्खा हुनु, कपाल झर्नु, अनुहार फुल्नु, कब्जियत तथा स्मरणशक्ति कमजोर हुनु पनि यसका संकेत हुन सक्छन् । महिलाहरूमा यो समस्या बढी देखिने र महिनावारी अनियमित हुनु वा बाँझोपनको समस्या पनि देखापर्न सक्ने उनले बताए । लामो समयसम्म उपचार नगरेमा मुटु रोग, उच्च कोलेस्ट्रोल तथा मानसिक स्वास्थ्यमा समेत असर पर्न सक्छ ।
हाइपोथाइराइडिज्मको पहिचान रगत परीक्षणमार्फत गरिन्छ । चिकित्सकको सल्लाहअनुसार थाइराइड हर्मोनको औषधि सेवनले यसलाई नियन्त्रणमा राख्न सकिन्छ । समयमै जाँच, सन्तुलित आहार, आयोडिनयुक्त नुनको प्रयोग र नियमित स्वास्थ्य परीक्षणले यस रोगको जोखिम घटाउन मद्दत गर्ने डा. अग्रहरिको सुझाव छ ।
