आईसीयू (Intensive Care Unit) अत्यन्त संवेदनशील र तनावपूर्ण उपचार कक्ष हो, जहाँ जीवन–मृत्युको अवस्थाबीच संघर्ष भइरहेका बिरामीहरूको उपचार गरिन्छ। यस्तो अवस्थामा बिरामीका आफन्तहरू मानसिक रूपमा अत्यन्तै दबाबमा हुन्छन्, जसका कारण सानो कुराले पनि आक्रोशको रूप लिन सक्छ।
अत्यधिक भावनात्मक तनाव। आफन्तहरूले आफ्ना प्रियजनको अवस्था नाजुक देख्दा डर, चिन्ता र असहायता महसुस गर्छन्। यो मानसिक दबाब कहिलेकाहीँ नर्सिङ स्टाफप्रति असन्तुष्टि वा रिसको रूपमा प्रकट हुन्छ।
सूचना अभाव वा गलत बुझाइ। आईसीयूमा सबै प्रक्रिया प्राविधिक र जटिल हुन्छन्। चिकित्सक र नर्सहरूले दिएको जानकारी सबैले सजिलै बुझ्न नसक्दा “उपचार भइरहेको छैन” भन्ने भ्रम पैदा हुन सक्छ, जसले विवाद बढाउँछ।
समय र पहुँचको सीमितता। आईसीयूमा भेटघाटको समय सीमित हुन्छ, र आफन्तलाई बिरामीसँग बस्न दिइँदैन। यसले उनीहरूमा असन्तुष्टि र अविश्वास बढाउन सक्छ।
अपेक्षा र यथार्थबीचको अन्तर। धेरैजसो आफन्तहरू छिटो सुधारको अपेक्षा राख्छन्, तर आईसीयूमा उपचार प्रक्रिया समय लाग्ने र अनिश्चित हुने भएकाले निराशा बढ्न सक्छ।
यस्ता अवस्थालाई कम गर्न स्पष्ट संवाद अत्यन्त आवश्यक हुन्छ। स्वास्थ्यकर्मीहरूले नियमितरूपमा बिरामीको अवस्थाबारे बुझिने भाषामा जानकारी दिनुपर्ने र आफन्तहरूले पनि संयम र विश्वास कायम गर्नुपर्ने भरतपुर अस्पतालकी आइसियू नर्सिङ इन्चार्ज सदिक्षा न्यौपाने बताउनुहुन्छ ।
