काठमाडौँ । औषधी व्यवस्था विभागका तत्कालिन महानिर्देशक नारायणप्रसाद ढकालले प्रचलित कानूनले तोकेको प्रक्रिया पुरा नगरी औषधीको मूल्य बढाएको भन्ने आरोपको सम्वन्धमा छानविन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उच्चस्तरीय नयाँ समिति गठन भएको छ ।
औषधीविज्ञ प्राडा बालमुकुन्द रेग्मीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो । समितिले केही दिन अघि बाट नै काम सुरु गरेको छ । यसअघि २६ चैतमा स्वास्थ्यमन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै अतिरिक्त स्वास्थ्य सचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेकी थिईन ।
गत २४ चैतको प्रतिनिधि सभा बैठकमा सांसद राजीव खत्रीले विभागका महानिर्देशक ढकालको नाम नै किटान गरी प्रचलित कानूनी प्रक्रिया पुरा नगरी औषधीको मूल्यबृद्धि गरेको र सो क्रममा अर्बौ रकमको अपचलन भएको ठोकुवा गरेका थिए ।
खत्रीले संसदमा चर्को रुपमा विषय प्रवेश गराएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २६ चैत विहान महानिर्देशक ढकाल र खत्रीलाई बोलाई सोधपुछ गरेको थियो । सोही दिन स्वास्थ्यमन्त्री मेहताले ढकाललाई विभागको महानिर्देशकको भूमिकाबाट हटाई मन्त्रालयमा हाजिर हुन पत्राचार गरेकी थिईन । विभागको नेतृत्व भने अहिले निमित्त महानिर्देशक शिवानी खड्गीले सम्हालेकी छन् ।
