काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । त्यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिवेदनको मस्यौदा राष्ट्रपति पौडेल समक्ष पेश गर्नुभएको थियो ।
सरकारले योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा र आध्यात्मिक अध्ययनसँग जोडिएको आरोग्य पर्यटन विस्तार गर्ने नीति अघि सारेको जनाएको छ। नीति तथा कार्यक्रममा नेपाललाई अन्तर्राष्ट्रिय आरोग्य केन्द्रका रूपमा स्थापित गर्न आवश्यक पूर्वाधार, अध्ययन–अनुसन्धान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
सरकारले औषधि, स्वास्थ्य उपकरण तथा आवश्यक पूर्वाधारसहितको एकीकृत स्वास्थ्य सेवा मोडेल कार्यान्वयनमा ल्याउने पनि जनाएको छ । स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, सेवा र उपकरणको उपलब्धता सुनिश्चित गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । सरकारले सबै स्थानीय तहमा आधारभूत अस्पतालको पहुँच सुनिश्चित गर्ने घोषणा पनि गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रमको सम्वोधन सम्वन्धी मस्यौदा पारित गर्ने निर्णय गरेको थियो । नीति तथा कार्यक्रममा सरकारले स्वास्थ्यका विषयलाई पनि अघि सारेको छ ।
नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका मुख्य विषय यस्ता छन् :
– अटिजम तथा न्युरोडाइभरसिटी भएका बालबालिकाहरुको थेरापी सेवा र विशेष तालीम प्राप्त शिक्षक र शिक्षा सेवाको व्यवस्था मिलाइने छ ।
– आधारभूत स्वास्थ्य सेवामा न्युनतम मापदण्ड लागू गर्दै आवश्यक जनशक्ति औषधी उपकरण र पूर्वाधार सहितको एकीकृत सेवा मोडल कार्यान्वयन गरिनेछ ।
– स्वास्थ्य सेवालाइ लागतप्रभावकारी र नागरिक मैत्री बनाउने गरी स्थानीय तहमा आधारभूत अस्पताल सम्मको पहुँच सुनिश्चित गरिनेछ ।
– सामुदायिक स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता संख्या एवं दायरा विस्तार गरिनेछ ।
– स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिनेछ ।
– टेलि हेल्थ प्लेटफर्म मार्फत दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ परामर्श सेवा उपलव्ध गराइने छ ।
– रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल तथा स्वास्थ्य सेवाको गुणस्तर बढाउन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिनेछ ।
– राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिनेछ ।
– क्यान्सर लगायतका नसर्ने रोग नियन्त्रणका लागि उपचार भन्दा रोकथाम जनचेतना नियमित परीक्षण र जीवन शैलीमा आधारित रणनीति कार्यान्वयन गरिनेछ ।
– मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अंगको रुपमा स्थापित गर्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन गरिनेछ ।
– योग ध्यान र समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको विस्तार र प्ररर्वदन गरिनेछ ।
– अत्याधुनिक अपांगतापुनस्थापना केन्द्रहरुको स्थापना गरी प्रोस्टेथिक फिजियोथेरापी लगायतका विशिष्टीकृत सेवाहरु उपलव्ध गराईनेछ।
– अपांगताको प्रारम्भिक पहिचान शिघ्र हस्तक्षेप र पुर्नस्थापना सेवालाई आधारभूत स्वास्थ्य प्रणालीसंग आवद्ध गर्दै स्थानीय तहसम्म विस्तार गरिनेछ ।
– वौदिक अपांगता भएका बालबालिकाका लागि सहायक प्रविधि सहित विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
– स्वस्थ जनशक्ति विकास गर्न एकीकृत मानव संसाधन प्रणाली विकास गरिनेछ ।
– आयुर्वेृद प्राकृतिक तथा बैकल्पिक चिकित्सा उपाचार पद्धतिलाई बैज्ञानिक आधारमा संस्थागत गरिनेछ ।
– नेपाल औषधी लिमिडेटको स्तरउन्नति गरनेछ।
– स्वदेशी औषधी उत्पादनलाई प्रवर्द्धन गरिनेछ ।
