चितवन । नेपाल चिकित्सक संघको पाँचौँ राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन तथा ३०औँ एनेमेकन–२०२६ अन्तर्गत ‘एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) द साइलेन्ट प्यान्डेमिक’ विषयमा विशेष छलफल गरिएको छ । भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा ( एएमआर ) को बढ्दो चुनौती, यसको प्रभाव तथा नियन्त्रणका लागि आवश्यक नीतिगत उपायबारे विज्ञहरूबीच गहन छलफल भएको थियो ।
कार्यक्रमको अध्यक्षता डा. बद्री रिजालले गर्नुभएको थियो । प्यानल छलफलमा डा. प्रदिप ज्ञवाली, डा. सितल अधिकारी, डा. विजय कुमार श्रेष्ठ, डा. खिलसा पोखरेल तथा प्रज्वल जंग पाण्डे सहभागी हुनुहुन्थ्यो भने कार्यक्रमको सहजीकरण पत्रकार सन्दीकुमार श्रेष्ठले गर्नुभएको थियो । छलफलका क्रममा विज्ञहरूले एन्टिबायोटिक औषधिको अनावश्यक तथा गलत प्रयोगका कारण ( एएमआर) को समस्या विश्वभर गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि कडा नीति, प्रभावकारी निगरानी र जनचेतना अभिवृद्धि आवश्यक रहेको बताउनु भएको थियो । विज्ञहरूले स्वास्थ्य क्षेत्र, सरकार र समुदायबीच समन्वयात्मक प्रयासमार्फत मात्र यस समस्यालाई नियन्त्रण गर्न सकिने धारणा राख्नु भएको थियो ।
विश्व स्वास्थ्य संगठनले ( एएमआर ) लाई विश्व जनस्वास्थ्यका प्रमुख चुनौतीमध्ये एकका रूपमा सूचीकृत गर्दै यसप्रति गम्भीर ध्यान दिन आग्रह गर्दै आएको छ । तसर्थ यसखाले सम्मेलनबाट आएका बिज्ञहरुको अनुभव र सुझावहरुलाई नीतिगत रुपमा अगाडी बढाउन सकिएमा एन्टिमाइक्रोबियल रेजिस्टेन्सबाट देखा परेका समस्यालाई नियन्त्रण गर्न सकिने छ ।

