गोरखा । गोरखा जिल्लामा सञ्चालन गरिएको दुईदिने निःशुल्क मुटुरोग स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन्। प्रदेश अस्पताल गोरखा र सिरानचोक गाउँपालिकामा आयोजित शिविरमा मुटुरोग सम्बन्धी परामर्श, इसिजी तथा इकोकार्डियोग्राफी जाँच सेवा प्रदान गरिएको थियो । साथै, आवश्यक बिरामीलाई निःशुल्क औषधि वितरणसमेत गरिएको आयोजकले जनाएको छ ।
शिविर त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटु सल्य चिकित्सक डा. अनिल भट्टराईको नेतृत्वमा सञ्चालन गरिएको थियो । डा. भट्टराईका अनुसार शिविरमा स्वास्थ्य परीक्षण गराएका केही बिरामीमा मुटु बाथरोग, जन्मजात मुटुरोग तथा मुटुका नसा अवरुद्ध हुने जस्ता गम्भीर समस्या पहिचान भएका छन् । ती बिरामीलाई थप उपचारका लागि सुविधा सम्पन्न स्वास्थ्य संस्थामा पठाउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
शिविरको संयोजन रोटरी क्लब अफ गोरखा, प्रदेश अस्पताल गोरखा तथा सिरानचोक गाउँपालिकाले गरेका थिए, भने प्राविधिक सहयोग त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, काठमाडौंले उपलब्ध गराएको थियो।

