काठमाडौं । सर्लाहीबाट उपचारको आशामा काठमाडौं आएका छोटु मोहम्मद र उनकी श्रीमती नहिमा खातुनका लागि राजधानीको ठूलो अस्पताल भरोसाको केन्द्र बन्नुपर्ने थियो । तर उनीहरूको पहिलो अनुभव भने अन्योल र निराशामा परिणत भयो । महारागञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भेटिएका छोटुको अनुहारमा रोगको पीडा मात्र होइन, उपचार नपाएको असहायपन पनि स्पष्ट देखिन्थ्यो ।
२९ वर्षका छोटु मोहम्मद श्रीमतीको काखमा टाउको राखेर अस्पतालको बेन्चमा लम्पसार परेका छन् । शरीरका हातखुट्टा अस्वाभाविक रूपमा सुन्निएका छन् । पेट फुलेको छ । आँखा पूरै पहेँलो देखिन्छ । बोल्न खोज्दा स्वर निस्कँदैन, निस्किए पनि थरथराउँछ । आँखाभरि आँसु पार्दै उनले बिस्तारै भने, ‘उभिन सक्दिनँ । यति गार्हो हुँदा पनि अहिलेसम्म डाक्टरलाई देखाउन पाइनँ ।’
आइतबार साँझ उनीहरू टिचिङ पुगेका थिए । शरीरको अवस्था बिग्रँदै गएको थियो । कसैले आकस्मिक कक्षमा जान सुझाव दियो । उनीहरू त्यहीँ पुगे । तर त्यहाँबाट उनीहरूले अपेक्षा गरेको उपचार पाएनन् । छोटुका अनुसार चिकित्सकले उनलाई भोलिपल्ट ओपीडीमा देखाउन भन्दै फर्काइदिए । अपरिचित शहरमा कहाँ जाने ? कसलाई सोध्ने ? के गर्ने ? केही थाहा थिएन ।
‘शरीर पूरै दुखेको छ । पिसाब पनि पहेँलो आउँछ । मर्न लागेजस्तो भइरहेको छ,’ उनले पीडा सुनाए, ‘आकस्मिकमा भर्ना हुन एम्बुलेन्समा आउनुपर्ने रहेछ । हामी त हिँडेरै आएका थियौँ, त्यसैले डाक्टरलाई देखाउन पाइनँ ।’
उनीहरूले अस्पताल नजिकैको होटलमा रात बिताए । बिहान करिब ७ बजे उनीहरू फेरि अस्पताल पुगे । ओपीडीको लाइनमा उभिए । छोटु कमजोर भएकाले उभिनै सकेनन् । श्रीमती (नहिमा) नेपाली भाषा राम्रोसँग बुझ्दिनन् । धेरै सोधपुछ र भौंतारिएपछि बिहान ९ बजेतिर टिकट काटे । तर त्यसपछि सुरु भयो अर्को प्रतीक्षा ।
पालो कुर्दाकुर्दै समय बित्दै गयो । ११ बजे ओपीडी सेवा बन्द भयो । तर छोटुको पालो आएन । दिउँसो १२ बज्दासम्म उनीहरूले खाना समेत खाएका थिएनन् । श्रीमतीको काखमा टाउको राखेर सुतेका छोटु बारम्बार एउटै कुरा दोहोर्याइरहेका थिए– पहिला डाक्टरलाई देखाउन पाएको भए हुन्थ्यो ।
छोटुको जीवन केही महिनाअघिसम्म सामान्य थियो । उनी भारतमा कपडा सिलाइको काम गर्थे । त्यही कामले परिवारको गुजारा चलिरहेको थियो । दुई महिनाअघि अचानक स्वास्थ्यमा समस्या देखिन थाल्यो । शरीर कमजोर हुँदै गयो । आँखा पहेँलो देखिन थाले । काम गर्न सक्ने अवस्था रहेन । उनी गाउँ फर्किए । वीरगञ्जको एक अस्पतालमा केही समय उपचार गराए । स्वास्थ्यमा सुधार आएन । बरु दिनप्रतिदिन शरीर गल्दै गयो ।
छिमेकीहरूले अन्तिम आशाका रूपमा काठमाडौं जान सल्लाह दिए । त्यही आशा बोकेर छोटु आइतबार बिहानै घरबाट काठमाडौं निस्किएका थिए । तर राजधानी आइपुग्दा उनले सोचेको जस्तो सहज उपचार प्रक्रिया भेटिएन । ‘राम्रो इलाज हुन्छ भनेर आएको,’ उनले भावुक हुँदै भने, ‘तर हामीजस्ता निमुखाको पीडा कसैले सुन्दा रहेनछन् ।’
