हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा पुरुष स्थायी बन्ध्याकरण सेवासहित दुईदिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । दुर्गम क्षेत्रका नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।
जिल्ला अस्पताल हुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित शिविर गाउँपालिकाका सबै ६ वटै वडाका नागरिकलाई लक्षित गरी वडा नं.४ स्थित पिप्लाङ बर्थिङ सेन्टरमा मंगलबारदेखि बुधबारसम्म सञ्चालन गरिएको थियो । शिविरमा स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा.उमाकान्त तिवारी, ल्याब इन्चार्ज रवीन्द्र देवकोटा लगायतको स्वास्थ्यकर्मी टोलीले सेवा प्रदान गरेको थियो । शिविरमार्फत पुरुष स्थायी बन्ध्याकरण, प्रयोगशाला परीक्षण, दन्त उपचार, हाडजोर्नी उपचार तथा भिडियो एक्स–रे लगायतका सेवा उपलब्ध गराइएको थियो ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा.तिवारीका अनुसार शिविरबाट २१४ महिला र ११४ पुरुष गरी कुल ३२८ जनाले स्वास्थ्य सेवा लिएका छन् । दुर्गम गाउँमै विशेषज्ञ चिकित्सकको टोली पुगेर सेवा दिएकोमा गाउँपालिका अध्यक्ष शाहीले खुसी व्यक्त गर्नुभयो । त्यस्तै, डा.तिवारीले भौगोलिक रूपमा विकट क्षेत्रमा बसोबास गर्ने नागरिकको घरदैलोमै पुगेर सेवा दिन पाउँदा आफ्नो पेशागत दायित्व पूरा भएका बताउनु भयो ।

