काठमाडौँ । जलवायु परिवर्तनको बढ्दो असरलाई मध्यनजर गर्दै विकासका सबै प्रयास दिगो र जलवायु–अनुकूल हुनुपर्नेमा जोड दिइएको छ । विश्व वातावरण दिवसका अवसरमा आज आयोजित कार्यक्रमका वक्ताहरूले वातावरण संरक्षण र आर्थिक समृद्धिलाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा सञ्जय आचार्यले विकासका नयाँ अवधारणालाई आत्मसात् गर्दै वातावरण संरक्षण र आर्थिक समृद्धिलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभयो । सरकारले सौर्य ऊर्जा तथा विद्युतीय सवारीसाधनको प्रवर्द्धनमार्फत वातावरण संरक्षणमा योगदान पुर्याइरहेको उल्लेख गर्दै उहाँले विद्युतीय सवारीसाधनका ब्याट्रीको दीर्घकालीन व्यवस्थापन लिइएको पहल सकारात्मक भएको उल्लेख गर्नुभयो । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले समृद्ध भविष्यका लागि जलवायु तथा प्रकृतिमैत्री विकास अपरिहार्य भएको बताउनुभयो ।
वातावरण र जलवायु शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गरी विद्यार्थीलाई सचेत बनाउनुपर्ने तथा किसानलाई जलवायु परिवर्तनका प्रभाव र अनुकूलनका उपायबारे जानकारी दिन आवश्यक रहेको उहाँले बताउनुभयो । जलवायु सङ्कटसँग जुध्न सरकार, निजी क्षेत्र, विकास साझेदार तथा समुदायबीच सहकार्य आवश्यक रहेको उहाँको जोड थियो । यसैगरी, वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले जलवायु परिवर्तनको असर तीव्र बन्दै गइरहेको वर्तमान अवस्थामा दिगो विकासको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।रासस
