मुटुरोगले ६६ वर्षकी आमालाई लगेपछि मलाई चितवनमा मुटुरोगसम्बन्धी विशिष्टीकृत अस्पताल खोल्ने इच्छा थियो । मेरा भान्जा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीको साथ पाएपछि म पनि चितवन मुटु अस्पतालको संस्थापक बन्न पुगेँ । मुटुरोगकै कारण मैले आमा गुमाउनु परे पनि अन्य सन्तानहरूले मुटुरोगकै कारण आफ्नी आमाहरू गुमाउनु नपरोस् भन्ने उद्देश्यले म चितवन मुटु अस्पतालमा जोडिएँ ।
मेरी आमा सीतादेवी शर्मा मुटुरोगका कारण स्ट्रोक भइ बित्नुभयो । उहाँलाई पहिले माइनर अट्याक भएको थियो । आमाले आफ्नो बायाँ हर नचलेको जस्तो भयो भनेपछि त्यति बेला चितवनमा कार्यरत वरिष्ठ न्यूरोसर्जन डा. बालकृष्ण थापाले आमाको उपचार गर्नुभएको थियो । डा. थापाले उपचार गरेको दुई दिनपछि आमाले केही सजिलो महसुस गर्नुभएको थियो तर ६ दिनपछि स्ट्रोकको मेजर अट्याक भएर उहाँले जीवन गुमाउनु पर्यो ।
मुटुरोगको उपचारको क्षेत्रमा चितवन मुटु अस्पताल प्रा.लि.लाई अग्रणी संस्था बनाउने हाम्रो लक्ष्य रहेको छ । यस अस्पताललाई तत्काल सय बेडको बनाउने र दीर्घकालमा मेडिकल कलेज नै बनाउने योजना छ । हाल २५ बेड क्षमतामा चितवन मुटु अस्पताल सञ्चालन भइरहेको छ । मुटुरोगसम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि दिने हाम्रो प्रयास निरन्तर चलिरहेको छ । अहिले सरकारले मेडिकल कलेजको स्वीकृति दिने काम रोकेको हुँदा तत्कालै केही गर्न सक्ने अवस्था छैन तर सरकारले स्वीकृति दिएको बेला यसलाई मेडिकल कलेज बनाउने सोच हाम्रो टिमको छ ।
राजधानी काठमाडौँ वा चितवनमा मात्र नभई नेपालका सबै प्रदेशमा स्वास्थ्य क्षेत्रका सुविधासम्पन्न संरचना आवश्यक छ । म अहिले अमेरिकाको भर्जिनियामा सपरिवार बस्छु । श्रीमती निलिमा बैंकिङ क्षेत्रमा कार्यरत छिन् । छोरा आयुष र छोरी स्नेहा दुबै जना सफ्टवेयर इन्जिनियर हुन् । अमेरिका जस्तो विकसित राष्ट्रमा पनि स्वास्थ्य सेवा लिन एक महिनाअघि नै अप्वाइन्टमेन्ट लिएर डाक्टरलाई भेट्नुपर्छ । नेपालमा त उही दिन डाक्टरलाई भेटेर आवश्यक चेकजाँच गराउन सकिन्छ । यो राम्रो पक्ष हो ।
नेपालमा स्वास्थ्य क्षेत्रको विकासका लागि थुप्रै अवसरहरू छन् । हरेक प्रदेशमा सुविधासम्पन्न विशिष्ट अस्पतालहरू खोल्नु पर्छ । त्यसका लागि गैरआवासीय नेपालीहरूको साथ र सहयोग लिन सकिन्छ । विशिष्टीकृत स्वास्थ्य सेवा दिने अस्पतालहरू खोल्न आवश्यक रकम गैरआवासीय नेपालीहरूबाट संकलन गर्न सकिन्छ । दक्ष जनशक्तिका लागि आवश्यक शिक्षा र तालिमको व्यवस्था गर्न सकिन्छ । राजधानी काठमाडौँमा रहेका जस्तै विशिष्टीकृत अस्पताल राजधानीबाहिर पनि खोल्न सकियो भने उच्चकोटीको स्वास्थ्य सेवा लिन काठमाडौँ नै जानुपर्ने बाध्यता सहजै हट्नेछ ।
स्वास्थ्य क्षेत्रमा लगानी गर्न चाहन्छन् गैरआवासीय नेपाली
अमेरिकालगायत विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरू नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्न इच्छुक हुनुहुन्छ । त्यसका लागि सरकारले वातावरण भने बनाइदिनु पर्छ । आरोग्य पर्यटन (मेडिकल टुरिज्म) को आकर्षक गन्तव्यका रुपमा नेपाललाई विकास गर्न सकिन्छ ।
नेपालमा सबैखाले अंग प्रत्यारोपणका प्रविधि ल्याउन सकिन्छ । यसका लागि दक्ष जनशक्ति र राम्रा उपकरण आवश्यक पर्छ । सरकारले दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्नुपर्छ । नयाँ उपकरण ल्याउने कुरामा पनि सरकारबाट सहजीकरण हुनुपर्छ । अनुदानको व्यवस्था गर्नुपर्छ सरकारले ।
अमेरिकामा बिरामीका सबै रिपोर्ट अनलाइनमा सुरक्षित गरिन्छ । बिरामीले आफ्ना स्वास्थ्य जाँचका कागजपत्र अनलाइनमा माइ चार्टमार्फत् हेर्न सक्छन् । त्यहाँ आफ्ना हेल्थ रिपोर्ट अपलोड गर्न सक्छन् । नेपालमा पनि यस्तो खालको सेवा सरकारले सुरु गर्न सक्छ । माइ चार्ट जस्तै डाटामा आधारित प्रणाली हुने हो भने सर्वसाधारण सेवाग्राही र स्वास्थ्य सेवा प्रदायकलाई धेरै सजिलो हुनेछ ।
गैरआवासीय नेपालीका रुपमा हामीले सरकारलाई के सहयोग गर्नुपर्छ, त्यसका लागि हामीहरू तयार छौँ । प्राइभेट पब्लिक पार्टनरसिपमा काम गर्न सकिन्छ । नेपाललाई स्वास्थ्य क्षेत्रमा विश्वकै नमुना बनाउने काममा आवश्यक लगानी गर्न गैरआवासीय नेपालीहरू तयार छन् । वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने हो भने गैरआवासीय नेपालीहरूको सहयोग र सहकार्यमा जोड दिनुपर्छ । त्यसो गर्न सकियो भने विकसित राष्ट्रका आधुनिक चिकित्सा क्षेत्रमा भएगरेका उपलब्धिलाई नेपालमा पनि ल्याउन सकिन्छ, जसले गर्दा नेपालको स्वास्थ्य क्षेत्रलाई दीर्घकालीनरुपमा अगाडि बढाउन मद्दत पुग्दछ ।
हरेक गैरआवासीय नेपालीहरू एक बिन्दुमा पुगेपछि आफू जन्मिएको देशको माटोप्रति निकै नै संवेदनशील बनेको हामीले महसुस गरेका छौँ । विभिन्न परिस्थितिले नेपाल छोडेर विदेश गए पनि हामी र हाम्रो पुस्ताले दुःख गरी आर्जन गरेको पैसा र व्यावहारिक ज्ञानलाई आफ्नै जन्मभूमिमा फर्केर लगानी गर्न तयार छौँ । विदेशमा गएर कमाउँदैमा हामी गैरआवासीय नेपालीहरू उतै रमाउँछौँ भन्ने सोच्नु गलत हुनेछ । हामी जहाँ रहे पनि मातृभूमिप्रतिको हाम्रो दायित्व हामीले भुलेका छैनौँ ।
विदेशमा संघर्ष गरेर एउटा पहिचान बनाउन सफल म जस्ता थुप्रै गैरआवासीय नेपाली दाजुभाइहरू नेपालमा केही गरौँ भन्ने हुटहुटी बोकेर बसेका छौँ । हाम्रो यो उत्साह र ऊर्जालाई सरकारले उपयोग गर्न सक्ने हो भने त्यसको फाइदा नेपाल र नेपालीलाई नै हुने हो । यसका लागि सुलभ स्वास्थ्य सेवाको अवधारणा ल्याएर सरकारले स्वास्थ्य संरचना अभिवृद्धि गर्नेतर्फ अगाडि बढ्नु पर्ने देखिन्छ ।
