स्वास्थ्य सेवा प्रणालीमा फेमिली फिजिसियनको भूमिका अत्यन्त महत्वपूर्ण र आधारभूत पनि मानिन्छ । फेमिली फिजिसियन भन्नाले त्यस्तो चिकित्सकलाई बुझिन्छ जसले व्यक्ति, परिवार र समुदायलाई दीर्घकालीनरूपमा सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्छ । कुनै एक रोग मात्र होइन, सम्पूर्ण शरीर, मानसिक अवस्था, जीवनशैली र सामाजिक पक्षलाई समेत ध्यानमा राखेर उपचार, सन्देश र रोकथामको कार्य गरिन्छ ।
आजको आधुनिक चिकित्सा प्रणालीमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको आवश्यकता बढ्दै गएको भए पनि प्राथमिक स्वास्थ्य सेवाको केन्द्रमा फेमिली फिजिसियन नै रहने गर्छन् । बिरामीका लागि पहिलो सम्पर्क बिन्दु ९ाष्चकत अयलतबअत उयष्लत० का रूपमा काम गर्छन् । सामान्यदेखि जटिल स्वास्थ्य समस्यासम्म प्रारम्भिक मूल्यांकन गर्ने, सही उपचार सुरु गर्ने र आवश्यक परे विशेषज्ञ चिकित्सकतर्फ रिफर गर्ने जिम्मेवारी हुने गर्दछ ।
फेमिली फिजिसियनको मुख्य भूमिका
फेमिली फिजिसियनको सबैभन्दा प्रमुख भूमिका भनेको प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्नु हो । साना तथा सामान्य रोगहरू जस्तै : ज्वरो, रुघाखोकी, टाउको दुखाइ, पेटसम्बन्धी समस्या, छालाका रोग आदि गरिन्छ । धेरैजसो स्वास्थ्य समस्या प्रारम्भिक चरणमै समाधान गर्न सकिने भएकाले फेमिली फिजिसियनले रोगको प्रभाव घटाउन ठूलो योगदान रहन्छ ।
दोस्रो महत्वपूर्ण भूमिका रोगको रोकथाम हो । बिरामीलाई रोग लाग्न नदिन आवश्यक सल्लाह र शिक्षा दिनु । जस्तै, सन्तुलित आहार, नियमित व्यायाम, धुम्रपान तथा मदिरा सेवन नगर्ने, सरसफाइमा ध्यान दिने, र नियमित स्वास्थ्य परीक्षण गर्ने बानी विकास गराउनु हो । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हो भन्ने अवधारणा फेमिली फिजिसियनले व्यवहारमा उतार्नु पर्छ ।
तेस्रो महत्वपूर्ण भूमिका दीर्घकालीन रोग व्यवस्थापन हो । मधुमेह, उच्च रक्तचाप, दम, मुटु रोग, थाइराइड जस्ता दीर्घकालीन रोगहरूको नियमित निगरानी, औषधि व्यवस्थापन र जीवनशैली परामर्श फेमिली फिजिसियनमार्फत प्रभावकारीरूपमा गर्न सकिन्छ । यस्ता रोगहरूलाई नियन्त्रणमा राख्न निरन्तर अनुगमन आवश्यक हुने भएकाले फेमिली फिजिसियनको भूमिका अझ महत्वपूर्ण हुन्छ ।
परिवार र समुदायसँगको सम्बन्ध
फेमिली फिजिसियनको विशेषता भनेको बिरामीसँग दीर्घकालीन सम्बन्ध कायम गर्नु हो । केवल रोगको उपचार मात्र होइन, बिरामीको पारिवारिक अवस्था, आर्थिक स्थिति, मानसिक तनाव, सामाजिक वातावरण र जीवनशैलीलाई पनि बुझेर उपचार योजना बनाउनु पर्छ । यसले उपचारलाई अझ प्रभावकारी र व्यावहारिक बनाउँछ ।
एउटै परिवारका धेरै सदस्यहरूको स्वास्थ्य अवस्था बुझेर परिवारको सम्पूर्ण स्वास्थ्य इतिहास तयार पारिन्छ । यसले वंशाणुगत रोगहरूको पहिचान र रोकथाममा ठूलो सहयोग पुर्याउँछ । उदाहरणका लागि, यदि परिवारमा मधुमेह वा उच्च रक्तचापको इतिहास छ भने समयमै सचेतना र परीक्षण गर्न सकिन्छ ।
मानसिक स्वास्थ्यमा भूमिका
आजको व्यस्त जीवनशैलीका कारण मानसिक स्वास्थ्य समस्या बढ्दै गएको छ । तनाव, चिन्ता, डिप्रेसन जस्ता समस्याहरू धेरै देखिन्छन् । फेमिली फिजिसियनले यस्ता समस्याको प्रारम्भिक पहिचान गरी परामर्श प्रदान गर्नु पर्दछ । आवश्यक परे मानसिक रोग विशेषज्ञसँग समन्वय गरी उपचार अगाडि बढाउनु हाम्रो जिम्मेवारी हुन्छ । यसले मानसिक रोगलाई समयमै नियन्त्रण गर्न सहयोग गर्छ ।
स्वास्थ्य प्रणालीमा योगदान
फेमिली फिजिसियनले सम्पूर्ण स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउन ठूलो योगदान दिन्छन् । धेरै सामान्य स्वास्थ्य समस्या प्राथमिक स्तरमै समाधान हुँदा अस्पतालमा अनावश्यक भीड कम हुन्छ । यसले विशेषज्ञ चिकित्सकहरूलाई गम्भीर र जटिल बिरामीको उपचारमा ध्यान केन्द्रित गर्न सहज बनाउँछ । ग्रामीण तथा दुर्गम क्षेत्रमा फेमिली फिजिसियनको भूमिका अझ महत्वपूर्ण हुन्छ । त्यहाँ विशेषज्ञ सेवाको पहुँच कम हुने भएकाले उहाँहरू नै मुख्य स्वास्थ्य सेवा प्रदायक हुन्छन् । स्थानीय समुदायसँग नजिक रहेर स्वास्थ्य शिक्षा, सचेतना कार्यक्रम र आधारभूत उपचार सेवा प्रदान गरिन्छ ।
स्वास्थ्य शिक्षा र जनचेतना
फेमिली फिजिसियनले जनचेतना फैलाउने काम पनि गर्नुहुन्छ । स्वस्थ जीवनशैली, रोगको प्रारम्भिक लक्षण, समयमै उपचारको महत्व जस्ता विषयमा समुदायलाई शिक्षा दिनुहुन्छ । यसले मानिसहरूलाई रोगप्रति सचेत बनाउँछ र समयमै अस्पताल पुग्न प्रेरित गर्छ । खासगरी फेमिली फिजिसियन स्वास्थ्य सेवाको मेरुदण्ड मानिन्छन् । व्यक्ति मात्र होइन, सम्पूर्ण परिवार र समुदायको स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने हुन्छ ।
मेरो कार्यअनुभव
मधेश प्रदेशको रौतहट जिल्लाको गौरमा रहेर गौर प्रादेशिक अस्पतालमा गरेको मेरो सेवा अनुभवलाई हेर्दा फेमिली फिजिसियनले खेल्नुपर्ने माथि उल्लेखित सबैखाले चिकित्सकीय कार्य म स्वयम्ले अभ्यास गरेको छु । चिकित्सा विज्ञानमा यो विधाको प्रयोग र महत्व निकै महत्वपूर्ण रहेको छ । यसलाई सरकारी तथा निजी स्तरमा अझ योजनाबद्ध तरिकाले अगाडि बढाउनु आवश्यक देखिन्छ ।
