काठमाडौं । गोरखापत्र दैनिकका स्वास्थ्य पत्रकार सरोज ढुङ्गेललाई ‘रोटरी जोर्नो अवार्ड २०२६’ बाट पुरस्कृत हुनुभएको छ । स्वास्थ्य पत्रकारितामा ढुङ्गेलले पु¥याउनुभएको योगदानका लागि उक्त पुरस्कार प्रदान गरिएको हो ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहमा ढुङ्गेललाई ‘रोग रोकथाम तथा उपचार’ विधामा उत्कृष्ट पत्रकारका रुपमा नगद ५१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो । ढुङ्गेलले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, रोगको रोकथाम, उपचार सेवा, औषधी व्यवस्थापन, जनस्वास्थ्य, सरकारी स्वास्थ्य नीति, स्वास्थ्य सेवा प्रवाह तथा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा निरन्तर कलम चलाउँदै आउनुभएको छ ।
ढुङ्गेललाई रोटरी इन्टरनेशनलका निर्देशक वासुदेव गोल्यान र डिस्ट्रक गर्भनर बिनोद कोइरालले सम्मान गर्नुभएको हो । ढुङ्गेलका समाचारले स्वास्थ्य सेवामा देखिएका चुनौती उजागर गर्नुका साथै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, नागरिकलाई सही सूचना उपलब्ध गराउने तथा स्वास्थ्य क्षेत्रमा सकारात्मक सुधारका लागि सार्वजनिक बहस सिर्जना गर्ने विषयमा महत्वपूर्ण भूमिका खेलेको भन्दै रोटरीले मूल्यांकन गरेको हो । पत्रकार ढुङ्गेल स्वास्थ्य पत्रकार मञ्चका पूर्व अध्यक्षसमेत हुनुहुन्छ।
रोटरी जर्नो अवार्ड २०२६ का लागि सात वटा विधामा देशभरका ५० जना पत्रकार २५७ वटा समाचारसहित पत्रकारहरु प्रतिस्पर्धामा सहभागी हुनुभएको थियो । छनोट समितिका अध्यक्ष सुरेश आचार्यले पत्रकारहरुको समाचार सामग्रीको गुणस्तर, प्रभाव, विषयवस्तुको गहिराइ र सामाजिक योगदानका आधारमा उत्कृष्ट पत्रकार छनोट गरिएको जानकारी दिनुभयो ।
सो अवसरमा वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले सन् २०११ देखि विभिन्न विधामा उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
