नशा तथा हाडजोर्नीमा हुने क्यान्सर अहिले विश्वभर बढ्दो स्वास्थ्य समस्याका रूपमा देखिन थालेको छ । नेपालमा पनि पछिल्लो समय हड्डी तथा जोर्नीसम्बन्धी क्यान्सरका बिरामीको संख्या क्रमशः बढ्दै गएको देखिन्छ । समयमै रोग पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले सचेतना अत्यन्त आवश्यक मानिन्छ ।
हाडजोर्नी क्यान्सर भनेको हड्डी, जोर्नी वा त्यस वरिपरिका तन्तुहरूमा असामान्य रूपमा क्यान्सरको कोशिका वृद्धि हुनु हो । यो रोग बालबालिका, युवादेखि वृद्धसम्म जुनसुकै उमेर समूहमा देखिन सक्छ । विशेषगरी लामो समयसम्म हड्डी दुख्ने, जोर्नी सुन्निने, गाँठो देखिने, हिँडडुल गर्न गाह्रो हुने वा सामान्य चोटमै हड्डी भाँचिने समस्या देखिएमा तत्काल विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ ।
धेरै बिरामी सुरुवाती लक्षणलाई सामान्य दुखाइ सम्झेर बेवास्ता गर्ने भएकाले रोग जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल आउने गर्छन् । यसले उपचारमा कठिनाइ बढाउने गर्दछ । त्यसैले शरीरमा लामो समयसम्म असामान्य दुखाइ वा सुन्निने समस्या देखिए ढिला नगरी परीक्षण गराउनु पर्छ ।
हाडजोर्नी क्यान्सर पत्ता लगाउन विभिन्न आधुनिक परीक्षण गरिन्छ । सुरुमा एक्स–रे गरेर हड्डीको अवस्था हेरिन्छ । त्यसपछि आवश्यकताअनुसार एमआरआई, सिटी स्क्यान, बोन स्क्यान तथा बायोप्सी गरिन्छ । बायोप्सीमार्फत क्यान्सरको प्रकार र अवस्था निश्चित गरिन्छ । यही रिपोर्टका आधारमा उपचार योजना तयार गरिन्छ ।
उपचारको सबैभन्दा महत्वपूर्ण विधि शल्यक्रिया हो । क्यान्सर प्रभावित हड्डी वा तन्तुलाई सुरक्षित तरिकाले हटाइन्छ । पहिले यस्तो अवस्थामा बिरामीको हातखुट्टा काट्नुपर्ने सम्भावना धेरै हुन्थ्यो । तर अहिले प्रविधिको विकाससँगै “लिम्ब साल्भेज सर्जरी” अर्थात् अंग जोगाउने शल्यक्रिया प्रभावकारीरूपमा गर्न थालिएको छ । यसमा क्यान्सर भएको हड्डी हटाएर कृत्रिम हड्डी, मेटल इम्प्लान्ट वा बोन ग्राफ्ट राखिन्छ । यसले बिरामीलाई सामान्य जीवनयापनमा फर्किन सहयोग पुर्याउँछ ।
केही प्रकारका हाडजोर्नी क्यान्सरमा केमोथेरापी पनि आवश्यक पर्छ । शल्यक्रियाअघि केमोथेरापी दिँदा क्यान्सरको गाँठो सानो बनाउन मद्दत हुन्छ भने शल्यक्रियापछि बाँकी रहेका क्यान्सर कोशिका नष्ट गर्न सहयोग पुग्छ । कतिपय अवस्थामा रेडियोथेरापी पनि प्रयोग गरिन्छ । विशेषगरी शल्यक्रियाबाट पूर्णरूपमा हटाउन कठिन हुने क्यान्सरमा रेडियोथेरापी प्रभावकारी मानिन्छ ।
उपचारपछि बिरामीलाई पुनःस्थापना सेवा अत्यन्त आवश्यक हुन्छ । फिजियोथेरापी, नियमित व्यायाम, सन्तुलित खानपान र मानसिक परामर्शले बिरामीलाई छिटो सामान्य अवस्थामा फर्किन मद्दत गर्छ । लामो उपचार प्रक्रियाका कारण कतिपय बिरामी मानसिक तनावमा जाने भएकाले परिवारको साथ, सकारात्मक सोच र आत्मबल पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
अहिले नेपालमै आधुनिक प्रविधिबाट हाडजोर्नी क्यान्सरको उपचार सम्भव भइरहेको छ । पहिले उपचारका लागि विदेश जानुपर्ने अवस्था भए पनि अहिले दक्ष चिकित्सक र आधुनिक उपकरणका कारण धेरै बिरामीले देशमै प्रभावकारी सेवा पाइरहेका छन् ।
स्वस्थ जीवनशैली अपनाउने, शरीरमा देखिएका असामान्य परिवर्तनलाई बेवास्ता नगर्ने र नियमित स्वास्थ्य परीक्षण गराउने बानीले हाडजोर्नी क्यान्सर समयमै पहिचान गर्न सहयोग पुर्याउँछ । समयमै उपचार सुरु गर्न सके धेरै बिरामी पूर्णरूपमा निको भएर सामान्य जीवन बिताउन सक्षम हुने छन् । हाम्रो टिमले वीपी कोइराला क्यान्सर अस्पताल, भरतपुरमा माथि उल्लेख गरिएका जस्तो क्यान्सर रोगका सेवाहरू नियमितरुपमा बिरामीहरूलाई सेवा दिँदै आएका छौ ।
