हृदयघात आजभोलि विश्वभरि नै अत्यन्तै खतरनाक र मृत्यु गराउने प्रमुख रोगहरूमध्ये एक हो । हृदयलाई रगत आपूर्ति गर्ने नसाहरू (coronary arteries) अवरुद्ध हुँदा हृदयघात हुन्छ । जब हृदयमा पर्याप्त अक्सिजनयुक्त रगत पुग्दैन, तब हृदयका मांसपेशीहरू कमजोर हुँदै जान्छन् र अन्ततः काम गर्न असफल हुन सक्छन् ।
हृदयघात कसरी हुन्छ ?
हृदयघात प्रायः हृदयका धमनीहरूमा बोसो, कोलेस्ट्रोल र अन्य पदार्थ जम्मा भएर हुने अवरोध (blockage) का कारण हुन्छ । यस अवस्थालाई एथेरोस्क्लेरोसिस (atherosclerosis) भनिन्छ । समयसँगै यी जमेको पदार्थहरू कडा हुँदै धमनी साँघुरो बनाउँछन् । जब कुनै एक धमनी पूर्णरूपमा बन्द हुन्छ, तब हृदयको सम्बन्धित भागमा रगत पुग्दैन । यसले हृदयको मांसपेशीलाई क्षति पुर्याउँछ र हृदयघात हुन्छ । कहिलेकाहीँ रगत जमेर (blood clot) को कारण अचानक अवरोध सिर्जना गर्न सक्छ ।
मुख्य कारणहरू
हृदयघात हुनुका धेरै कारणहरू छन्, जसमा जीवनशैली मुख्यरूपमा जिम्मेवार हुन्छ । अन्य कारणहरू यस प्रकार छन् :
अस्वस्थ खानपान : बढी बोसो, तारेको, जंक फूड र धेरै नुनयुक्त खाना ।
धुम्रपान र मदिरा सेवन : यसले धमनीहरूलाई कमजोर र साँघुरो बनाउँछ ।
उच्च रक्तचाप : निरन्तर उच्च दबाबले हृदयलाई असर गर्छ ।
उच्च कोलेस्ट्रोल : रगतमा खराब बोसो बढ्दा अवरोध हुन्छ ।
मधुमेह : चिनीको मात्रा अनियन्त्रित हुँदा नसाहरू बिग्रन्छन् ।
व्यायामको कमी : शरीर निष्क्रिय हुँदा हृदय कमजोर हुन्छ ।
तनाव : अत्यधिक मानसिक तनावले पनि हृदयमा असर गर्छ ।
वंशाणुगत कारण : परिवारमा हृदय रोगको इतिहास भए जोखिम बढी हुन्छ ।
हृदयघातका लक्षणहरू
हृदयघात अचानक देखिन सक्छ, तर केही संकेतहरू पहिले नै देखिन सक्छन् । जस्तै : छातीमा कडा दुखाइ वा भारीपन हुनु, बाँया हात, काँध, घाँटी वा बङ्गारामा दुखाइ फैलिनु, सास फेर्न गाह्रो हुनु, अत्यधिक पसिना आउनु, चक्कर लाग्नु वा कमजोरी महसुस हुनु, वाकवाकी वा बान्ता हुने अवस्था यस्ता लक्षण देखिए तुरुन्त अस्पताल जानु अत्यन्त आवश्यक हुन्छ ।
बच्ने उपायहरू
हृदयघातबाट बच्न जीवनशैली सुधार गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । जस्तै : सन्तुलित खाना खाने, हरियो सागसब्जी, फलफूल, फाइबरयुक्त खाना बढी खाने, तेल, घ्यू र बोसो कम गर्ने, नियमित व्यायाम गर्ने, दैनिक ३० मिनेट हिँड्ने वा हल्का दौडने, योग र प्राणायाम गर्ने, धुम्रपान र मदिरा पूर्णरूपमा छोड्ने, यी दुवैले हृदयलाई प्रत्यक्ष क्षति पुर्याउँछन् ।
त्यस्तै तनाव नियन्त्रण गर्ने, ध्यान, योग र पर्याप्त आराम गर्ने, नियमित स्वास्थ्य जाँच गर्ने, रक्तचाप, चिनी र कोलेस्ट्रोल समय–समयमा जाँच गर्ने, तौल नियन्त्रण गर्ने, मोटोपन कम गर्न सन्तुलित जीवनशैली अपनाउँदा यसको प्रभावबाट बच्न सकिन्छ ।
हृदयघात एक गम्भीर तर धेरै हदसम्म रोक्न सकिने रोग हो । समयमै जीवनशैली परिवर्तन र स्वास्थ्यमा ध्यान दिएमा यसको जोखिम धेरै कम गर्न सकिन्छ । अस्वस्थ बानीहरू त्यागेर स्वस्थ जीवनशैली अपनाउनु नै हृदयलाई सुरक्षित राख्ने सबैभन्दा उत्तम उपाय हो । नियमित व्यायाम, राम्रो खाना र मानसिक सन्तुलनले जीवन लामो र स्वस्थ बनाउन मद्दत गर्छ ।
