काठमाडौं । क्यान्सर रोग समयमै पहिचान र उपचार गर्न सकिने रोग हो भनी जनमानसमा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शोसाउन १६ गते (१ अगस्ट २०२६) शनिबार आयोजना हुने भएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुप, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर र हेल्पिङ ह्यान्ड्स फर रेमेडिजको आयोजनामा हुने कार्यक्रम ललितपुरको म्याजेस्टिक ग्रान्ड, एकान्तकुनामा हुनेछ ।
कार्यक्रममा क्यान्सरलाई सफलतापूर्वक पराजित गरेका सर्भाइभरहरू र्याम्पमा उत्रिएर आफ्नो संघर्ष, आत्मविश्वास र जीवनप्रतिको सकारात्मक सन्देश प्रस्तुत गर्नेछन् । आयोजकका अनुसार सर्भाइभरहरूको प्रत्येक पाइला ‘क्यान्सर उपचार सम्भव छ र जीवनप्रति आशा कायम राख्नुपर्छ’ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रमकी परिकल्पनाकार तथा क्यान्सर अभियन्ता स्वरुपा श्रेष्ठले क्यान्सरप्रति समाजमा रहेको डर र भ्रम हटाउँदै आशा फैलाउनु नै शोको मुख्य उद्देश्य रहेको बताइन् । “क्यान्सर अन्त्य होइन, नयाँ जीवनको सुरुआत पनि हुन सक्छ । सर्भाइभरहरूको प्रत्येक पाइला आशा, साहस र आत्मविश्वासको सन्देश हो”, उनले भनिन् ।
उनले क्यान्सर जित्न सकिन्छ भन्ने विश्वास समाजमा स्थापित गर्न सबैलाई कार्यक्रममा सहभागी भई सर्भाइभरहरूको हौसला बढाइदिन पनि आग्रह गरेकी छन् । उनका अनुसार दर्शकको उपस्थिति मात्र पनि क्यान्सरसँग लडेर नयाँ जीवन सुरु गरेका सर्भाइभरहरूका लागि ठूलो आत्मबल बन्नेछ ।
