चितवन । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्द भएको छ ।
शनिबार वीरगञ्ज महानगरपालिका–२५ का राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । निजको मृत्यु चिकित्सकको लापर्वाहीका कारण भएको आरोप लगाउँदै परिवारका सदस्य तथा आफन्तले नारायणी अस्पताल वीरगञ्जमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गरे । डा प्रमोद राम गम्भीर घाइते हुनुभएको विरुद्धमा चितवन जिल्लाका अधिकांश अस्पतालमा उपचार सेवा बन्द गरिएको हो ।
भरतपुर अस्पतालमा सोमबार तीन हजार ५०० ले बहिरङ्ग सेवा लिएका थिए । क्यान्सर अस्पतालमा एक हजार २००, दुई मेडिकल कलेजमा दुई हजारभन्दा बढी र निजी साना अस्पतालमा चार हजारभन्दा बढी बहिरङ्ग सेवामा बिरामी दैनिक आउने गर्छन् । भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका दुई मेडिकल कलेज र २३ वटा साना अस्पतालका बहिरङ्ग सेवा बन्द हुँदा बिरामी प्रभावित भएका हुन् ।
नेपाल चिकित्सक सङ्घ, चितवनका वरिष्ठ उपाध्यक्ष डा दीपेन्द्र न्यौपानेले आकस्मिक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिनुभयो । उहाँले चिकित्सकमाथि भएको आक्रमण निन्दनीय भएको भन्दै दोषीलाई कारबाही नगरेसम्म सेवा सञ्चालन गर्न कठिन हुने बताउनुभयो ।
