काठमाडौं। क्यान्सरबारे जनचेतना फैलाउँदै बिरामीको मनोबल बढाउनका लागि आयोजना गरिएको चौंथो सुदिप्ता क्यान्सर सर्भाइभर र्याम्प शो शनिबार काठमाडौंमा सम्पन्न भएको छ।
नेपाल क्यान्सर अस्पताल, नेपाल क्यान्सर सपोर्ट समूह, उपचारका लागि सहयोगी हातहरु तथा जनमैत्री अस्पतालको संयुक्त आयोजनामा गरिएको र्याम्प शोमा ३ वर्षका बालकदेखि ८५ वर्षका १०० जना सर्भाइभरको सहभागिता रहेको थियो ।
शोकी परिकल्पनाकार स्वरुपा श्रेष्ठले समयमै उपचार गरे क्यान्सर निको हुन्छ यसको उपचार नेपालमै सम्भव छ र क्यान्सर भएपछि पनि सुन्दर जीवन छ भन्ने मुख्य सन्देशका साथ उक्त र्याम्प शो आयोजना गरिएको बताइन् ।
कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री तथा रास्वपाकी सांसद डा तोसिमा कार्की प्रमुख अतिथि रहेकी थिइन । डा कार्की पनि सर्भाइभरसँगै र्याम्पमा हिंडेकी थिइन । यसैगरी समाजसेवी अनुराधा कोइराला, हिमानी ट्रस्टबाट दिलासा राज्यलक्ष्मी शाह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा क्यान्सर सर्भाइभरहरुले आआफनो प्रस्तुति देखाएका थिए ।
