काठमाडौँ । नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा फर्किएको छ। आर्थिक वर्ष ०८१/८२ मा १० करोड तीन लाख ७२ हजार रुपैयाँ घाटामा रहेको लिमिटेडले आर्थिक वर्ष ०८२/८३ मा करिब तीन करोड रुपैयाँ नाफा कमाएको हो।
लिमिटेडका अनुसार औषधिको बिक्री वृद्धि, सञ्चालन खर्चमा कमी तथा आफ्ना जग्गा–भवन भाडाबाट प्राप्त आम्दानीका कारण संस्था पहिलोपटक ०४६ सालयता नाफामा जान सफल भएको हो।
२०२९ सालमा स्थापना भएको नेपाल औषधि लिमिटेडले एक समय १४६ प्रकारका औषधि उत्पादन गर्ने क्षमता राखे पनि हाल ११ प्रकारका औषधि मात्रै उत्पादन गर्दै आएको छ। हाल उत्पादन हुने औषधिमा स्यानिटाइजर, ग्लिसिरिन, सिटामोल, जीवनजल, एमजिट, एमजिट डिएफ, सेप्ट्रिमाइन, हेमोडायलाइसिस ए, हेमोडायलाइसिस बी, फोलिक एसिड र डिस्टिल्ड वाटर रहेका छन्। साथै, लिमिटेडले ग्लिसिरिन र ६ फ्लेभरका स्यानिटाइजर पनि उत्पादन गरिरहेको छ।
लिमिटेडले आगामी दुई महिनाभित्र थप १० प्रकारका औषधि उत्पादन गर्ने योजना सार्वजनिक गरेको छ। तीमध्ये सरकारले निःशुल्क वितरण गर्ने आइरन चक्की, जुकाको औषधि, फोलिक एसिड तथा मधुमेह, उच्च रक्तचापलगायत दीर्घरोगीका लागि आवश्यक औषधिहरू रहने जनाइएको छ।
महाप्रबन्धक कैलाश पनेरूका अनुसार नयाँ उत्पादनको तयारीसँगै बजार विस्तारका लागि स्वास्थ्य संस्था तथा बजारको मागसमेत अध्ययन भइरहेको छ। ‘हामीले दुई महिनाभित्र १० प्रकारका नयाँ औषधि उत्पादन बढाउने तयारी गरेका छौँ। अहिले ती औषधिको बजार र बिक्री व्यवस्थापनबारे स्वास्थ्य संस्था तथा सम्बन्धित निकायसँग छलफल गरिरहेका छौँ,’ उनले बताए।
