काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटल तथा रेष्टुरेन्टमा अव्यवस्थित रूपमा हुने हुका, चुरोटलगायत धुम्रपान नियन्त्रण गर्न व्यवसायीलाई कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी अत्यन्त जरुरी सूचनामा होटल तथा रेष्टुरेन्टमा जथाभावी धुम्रपान गराइँदा धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा प्रतिकूल असर परेको तथा सञ्चालकहरूले कानुनी व्यवस्था पालना नगरेको भन्दै कार्यालयमा गुनासो आएको उल्लेख गरिएको छ।
सूचनाअनुसार, सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ बमोजिम होटल तथा रेष्टुरेन्टले धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउनुपर्नेछ। धुम्रपान गर्न छुट्याइएको स्थान चारैतिरबाट बन्द हुने तथा त्यसको धुवाँ वा असर अन्य व्यक्तिमा नपुग्ने गरी व्यवस्थापन गर्नुपर्ने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय तथा तोकिएका अन्य निकायबाट हुने अनुगमनका क्रममा ऐनविपरीत कार्य गरेको पाइएमा सोही ऐनको दफा १७ अनुसार अधिकतम कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ। प्रशासनले काठमाडौं जिल्लाभित्र सञ्चालित सबै होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई कानुनअनुसार धुम्रपान व्यवस्थापन गर्न र सार्वजनिक स्वास्थ्यको संरक्षणमा सहयोग पुर्याउन आग्रह गरेको छ।
