वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा जिटिए फाउन्डेसनको सहकार्यमा एम्बुलेन्स चालकहरूका लागि आधारभूत जीवनरक्षा तालिम सफलतापूर्वक सम्पन्न भएको छ । आकस्मिक अवस्थामा बिरामीको प्रारम्भिक मूल्याङ्कन, हृदय–फोक्सो पुनर्जीवन (सिपिआर) तथा जीवनरक्षासम्बन्धी आवश्यक सीप अभिवृद्धि गरी अस्पताल पुग्नुअघि प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
उक्त तालिम जिटिए फाउन्डेसनद्वारा सञ्चालन भइरहेको “नेपालमा एम्बुलेन्स चालकहरूका लागि चरणबद्ध आधारभूत जीवनरक्षा तालिमको प्रभावकारिता” सम्बन्धी अध्ययनअन्तर्गत सम्पन्न गरिएको हो । अध्ययनको मुख्य उद्देश्य एम्बुलेन्स चालकहरूको आधारभूत जीवनरक्षा सम्बन्धी ज्ञान, दक्षता तथा व्यावहारिक सीप विकास गरी आकस्मिक स्वास्थ्य सेवाको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्नु रहेको छ । नेशनल मेडिकल कलेजको सभाहलमा सञ्चालन भएको तालिममा ३४ जना एम्बुलेन्स चालकहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा जिटिए फाउन्डेसनका तर्फबाट ललिता अवाल (इन्टरभेन्सन तथा अनुसन्धान विकास अधिकृत एवं प्रशिक्षक), रुबी श्रेष्ठ (अनुसन्धान सहायक) र ललिता कुँवर (अनुसन्धान सहायक) को उपस्थिति रहेको थियो । नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक डा. इशरत जहानको नेतृत्वमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
तालिम सञ्चालनमा जिटिए फाउन्डेसनका प्रशिक्षकहरूसँगै नेशनल मेडिकल कलेजबाट आधारभूत जीवनरक्षा प्रशिक्षक प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेका नर्सिङ इन्चार्ज गोमा के.सी. र दुर्गा चापागाईं ले समेत सहजीकरण तथा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
तालिममा सहभागी एम्बुलेन्स चालकहरूलाई आकस्मिक अवस्थामा बिरामीको प्रारम्भिक मूल्याङ्कन, हृदय–फोक्सो पुनर्जीवन (सिपिआर), आधारभूत जीवनरक्षा अभ्यास, प्राथमिक उपचारका विधि तथा जीवनरक्षासम्बन्धी विभिन्न व्यवहारिक सीपहरूबारे प्रशिक्षण दिइएको थियो । तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले एम्बुलेन्स चालकहरूको क्षमता अभिवृद्धिलाई स्वास्थ्य सेवाको महत्वपूर्ण पक्षका रूपमा ग्रहण गर्दै यस्ता व्यावहारिक तथा सीपमूलक तालिमलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ । आकस्मिक स्वास्थ्य सेवाको पहिलो सम्पर्क बिन्दुमध्ये एक मानिने एम्बुलेन्स चालकहरूको दक्षताले बिरामीको प्रारम्भिक व्यवस्थापन तथा सुरक्षित अस्पताल स्थानान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
जिटिए फाउन्डेसन र नेशनल मेडिकल कलेजबीचको यस सहकार्यले एम्बुलेन्स चालकहरूको क्षमता विकाससँगै समुदायस्तरमा आकस्मिक स्वास्थ्य सेवा तथा अस्पताल पुग्नुअघिको स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
