वीरगञ्ज । नारायणी अस्पतालले स्वास्थ्य सेवालाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यका साथ नारायणी हस्पिटल फर्मुलरी २०८२ सार्वजनिक गरेको छ ।
अस्पतालमा आयोजित एक विशेष कार्यक्रमका बीच मेडिकल सुपरिटेन्डेन्ट (मेसु), विभिन्न विभागका विभागीय प्रमुखहरू, नर्सिङ इन्चार्जहरू तथा फार्मेसी विभागका प्रतिनिधिहरूको उपस्थितिमा उक्त फर्मुलरीको पहिलो संस्करण विमोचन गरिएको हो ।
यो फर्मुलरी लागू भएसँगै नारायणी अस्पतालमा बिरामीको उपचारका लागि आवश्यक पर्ने प्रमाणिक र गुणस्तरीय औषधिहरूको सही चयन तथा प्रयोगमा ठूलो सहयोग पुग्नेछ । यसले चिकित्सकहरूलाई औषधि सिफारिस गर्न र फार्मेसी विभागलाई सुरक्षित तथा प्रभावकारी औषधि व्यवस्थापन गर्न थप मार्गदर्शन गर्नेछ ।
कार्यक्रममा फर्मुलरी प्रकाशनमा महत्वपूर्ण योगदान पुर्याउने फार्मेसी विभागका कर्मचारी तथा प्राविधिक टोलीलाई धन्यवाद ज्ञापन गरिएको थियो ।
