काठमाडौं । औषधी व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी पुन: भरत भट्टराईले पाएका छन् । स्वास्थ्य मन्त्री निशा मेहताले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै भट्टराईलाई महानिर्देशकको जिम्मेवारी दिएकी हुन् ।
औषधीको मूल्यको विषयमा औषधी व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकाल छानविनमा परेपछि त्यसबेला राष्ट्रिय औषधी प्रयोगशालामा निर्देशक रहेका भट्टराईलाई पनि मन्त्रालय तानिएको थियो । गत ३ बैशाखमा मन्त्रालय तानिएका एघारौँ तहका भट्टराईलाई झण्डै साढे पाँच महिना पछि विभागको महानिर्देशकको जिम्मेवारी दिईएको हो ।
यसअघि सो ठाउँमा दशौँ तहकी शिवानी खड्गीले निमित्त महानिर्देशकको जिम्मेवारी पुरा गरेकी थिईन् । ‘भट्टराईलाई त्यसबेला मन्त्रालय तानियो । तर उनको खास मुद्धा थिएन । लामो समय जिम्मेवारी विहीन बनाउन पनि उचित हुन्न भनेर अहिले महानिर्देशकको जिम्मेवारीमा पठाउने निर्णय गर्नु भएको हो,’ मन्त्रालय उच्च स्रोतले भन्यो ।
