काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भएका नागरिकको जीवनरक्षाका लागि ठमेलमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट घाइते तथा बिरामी भएकाको उपचारमा सहयोग पु¥याउन ठमेलको नरसिंह चोकमा आज रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
परिषद्का अध्यक्ष राजुमान डङ्गोलले बाढी र प्राकृतिक विपत्तिका कारण अस्पतालमा रगतको माग बढेको तथा घाइतेलाई तत्काल रगतको आवश्यकता परेको अवस्थालाई दृष्टिगत गर्दै मानवीय कार्यको थालनी गरिएको जानकारी दिनुभयो । ‘एक थोपा रगत, कसैका लागि जीवनको आशा’ भन्ने मूल नाराका साथ आयोजना गरिएको रक्तदानमा काठमाडौँ महानगरपालिका–२६, १६, १७ र २७ ले समन्वय गरेका छन् । परिषद्का महासचिव पशुपति कँडेलले बाढीबाट प्रभावितको जीवन रक्षाका लागि आयोजना गरिएको उक्त कार्यक्रममा ११६ जनाले रक्तदान गरेको बताउनुभयो । कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का कार्यसमिति सदस्य तथा ठमेल भित्रका घरधनी तथा व्यवसायीको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो।रासस
