वीरगंज । वीरगंज बैंकर्स ग्रुपको आयोजनामा बाढी–पहिरो प्रभावित, विशेषगरी भोटेकोशी बाढीपीडितको सहयोगार्थ आयोजित रक्तदान कार्यक्रममा नौ जना महिलासहित १११ जनाले रक्तदान गरेका छन् ।
ग्रुपका अध्यक्ष रोहिणी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दहाल सहभागी भएका थिए । कार्यक्रममा बोल्दै दहालले रक्तदानजस्तो मानवीय कार्यले संकटका बेला आवश्यक पर्ने रगतको अभाव पूर्ति गर्न महत्वपूर्ण योगदान पुग्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य संघ वीरगंजका अध्यक्ष हरि गौतम, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, युवा नेता अरविन्द सिंह लगायतको उपस्थिति रहेको थियो । वीरगंजस्थित विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।
रक्तदान कार्यक्रमलाई रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेको प्राविधिक सहयोग रहेको थियो । रक्तदाताहरूलाई आवश्यक स्वास्थ्य परीक्षण तथा रक्त संकलनको व्यवस्थापन रक्तसञ्चार केन्द्रको टोलीले गरेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका कोषाध्यक्ष अभिलाष गुप्ताको समेत विशेष उपस्थिति रहेको थियो ।
बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवामा जोड्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रमले विपद्को समयमा सहयोग पुर्याउनुका साथै रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नसमेत योगदान गरेको आयोजकको भनाइ छ ।
