शल्यक्रिया अर्थात् अप्रेसन सफलतापूर्वक सम्पन्न भएपछि बिरामीको स्वास्थ्यलाभको महत्वपूर्ण चरण सुरु हुन्छ । अप्रेसनपछि अस्पतालमा रहँदा चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी हुने भएकाले समस्या आएमा तत्काल उपचार गर्न सकिन्छ । तर घर फर्किएपछि बिरामी स्वयं र परिवारका सदस्यले विशेष सावधानी अपनाउनु पर्छ । अप्रेसनपछि चिकित्सकले दिएको सल्लाह, औषधि, खानपान, आराम र नियमित फलोअपलाई सही रूपमा पालना गर्न सकेमा बिरामी छिटो र सुरक्षित रूपमा सामान्य अवस्थामा फर्कन सक्छ ।
सबैभन्दा पहिले चिकित्सकले सिफारिस गरेका औषधि तोकिएको मात्रा र समयमा नियमित सेवन गर्नुपर्छ । दुखाइ कम गर्ने औषधि, एन्टिबायोटिक वा अन्य औषधि दिइएको छ भने चिकित्सकको सल्लाहबिना औषधि बन्द गर्नु हुँदैन । आफूखुसी औषधि थप्ने, घटाउने वा परिवर्तन गर्ने बानीले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।
अप्रेसन गरिएको स्थानको घाउको उचित हेरचाह अत्यन्त आवश्यक हुन्छ । घाउ सफा र सुख्खा राख्नुपर्छ । चिकित्सक वा स्वास्थ्यकर्मीले दिएको निर्देशनअनुसार मात्र ड्रेसिङ परिवर्तन गर्नुपर्छ । घाउमा आफूखुसी मलम, तेल, पाउडर वा घरेलु औषधि लगाउनु हुँदैन । घाउ अत्यधिक रातो हुनु, सुन्निनु, असह्य दुखाइ हुनु, पिप आउनु, दुर्गन्ध आउनु वा निरन्तर रगत बग्नुजस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई जानकारी गराउनु पर्छ ।
अप्रेसनपछि खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । शरीरलाई घाउ निको पार्न पर्याप्त पोषण आवश्यक हुन्छ । चिकित्सकले विशेष आहारको सल्लाह दिएको अवस्थामा त्यसलाई अनिवार्य रूपमा पालना गर्नुपर्छ । सामान्य अवस्थामा पर्याप्त पानी पिउने, प्रोटिनयुक्त तथा सन्तुलित खाना खाने, हरियो सागसब्जी, फलफूल तथा अन्य पौष्टिक खाद्य पदार्थ सेवन गर्ने बानीले स्वास्थ्यलाभमा सहयोग गर्छ । पेट तथा आन्द्रासम्बन्धी अप्रेसन भएको अवस्थामा भने खाना खाने मात्रा र प्रकार चिकित्सकको सल्लाहअनुसार विस्तारै बढाउनु पर्छ ।
अप्रेसनपछि पर्याप्त आराम आवश्यक हुन्छ । शरीरलाई पूर्ण रूपमा निको हुन समय लाग्ने भएकाले सुरुका दिनमा अत्यधिक काम गर्नु हुँदैन । तर चिकित्सकले अनुमति दिएपछि हल्का हिँडडुल गर्नु पनि आवश्यक हुन्छ । लामो समयसम्म एउटै अवस्थामा ओछ्यानमा बसिरहँदा शरीरमा रक्तसञ्चारमा समस्या आउन सक्छ । त्यसैले स्वास्थ्य अवस्था र अप्रेसनको प्रकार अनुसार चिकित्सकको सल्लाहमा बिस्तारै शारीरिक गतिविधि बढाउनुपर्छ ।
भारी सामान उठाउने, धेरै झुक्ने, दौडने, उफ्रिने वा अप्रेसन गरिएको भागमा बढी दबाब पर्ने कामबाट केही समय टाढा रहनुपर्छ । सामान्य दैनिक काममा फर्किने समय अप्रेसनको प्रकृति, बिरामीको उमेर, स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहअनुसार फरक हुन सक्छ । त्यसैले अरू व्यक्तिको अनुभवका आधारमा आफ्नो गतिविधि निर्धारण गर्नु उचित हुँदैन ।
अप्रेसनपछि कब्जियतको समस्या पनि देखिन सक्छ । त्यसैले चिकित्सकले प्रतिबन्ध नलगाएको अवस्थामा पर्याप्त पानी पिउने, पौष्टिक तथा रेसायुक्त खाना खाने र हल्का हिँडडुल गर्ने गर्नुपर्छ । धूमपान तथा मदिरा सेवनबाट टाढा रहनु अत्यन्त आवश्यक हुन्छ । यस्ता पदार्थले घाउ निको हुने प्रक्रियामा असर पार्नुका साथै विभिन्न जटिलताको जोखिम बढाउन सक्छन् ।
अप्रेसनपछि ज्वरो आउनु, अत्यधिक वा बढ्दै गएको दुखाइ हुनु, लगातार बान्ता हुनु, पेट अत्यधिक फुल्नु, सास फेर्न गाह्रो हुनु, छाती दुख्नु, अत्यधिक रक्तस्राव हुनु, पिसाब गर्न समस्या हुनु वा घाउबाट पिप तथा दुर्गन्ध आउनुजस्ता असामान्य लक्षण देखिएमा बेवास्ता गर्नु हुँदैन । यस्ता लक्षण देखिएमा तत्काल चिकित्सक वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।
चिकित्सकले तोकेको फलोअपको मिति छुटाउनु हुँदैन । फलोअपमा घाउको अवस्था, टाँका, औषधिको प्रभाव तथा बिरामीको समग्र स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरिन्छ । आवश्यक परेमा थप परीक्षण वा उपचार पनि गर्न सकिन्छ ।
अप्रेसन सफल हुनु उपचारको एउटा महत्वपूर्ण चरण हो भने त्यसपछि गरिने उचित हेरचाहपूर्ण स्वास्थ्यलाभको अर्को महत्वपूर्ण पक्ष हो । त्यसैले अप्रेसनपछि चिकित्सकको सल्लाहलाई प्राथमिकता दिँदै औषधि नियमित सेवन गर्ने, घाउको उचित हेरचाह गर्ने, पौष्टिक खाना खाने, पर्याप्त आराम गर्ने, चिकित्सकले अनुमति दिए अनुसार हिँडडुल गर्ने र समयमै फलोअपमा जाने बानी बसाल्नुपर्छ । सावधानीपूर्वक गरिएको हेरचाहले बिरामीलाई सुरक्षित र सहज रूपमा सामान्य जीवनतर्फ फर्किन सहयोग गर्छ ।
