हेटौँडा । हेटौँडा सामुदायिक आँखा अस्पतालले मकवानपुर र बारा जिल्लाका ४ स्थानहरुमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । तिलगंगा आँखा प्रतिष्ठानको वार्षिक रुपमा बृहत आँखा शिविर कार्यक्रम अन्तर्गत केयर ब्लाइन्डनेस प्रोजेक्टको आर्थिक सहयोगमा शुक्रबार र शनिबार शिविरहरु सञ्चालन भएका हुन् ।
दुई दिनको शिविरहरुमा नौं सय ६२ जनाको आँखा परीक्षण गरिएको थियो । आँखा परीक्षण गरिएका मध्ये एक सय २२ जनामा मोतिबिन्दुको समस्या भेटिएको अस्पतालले जनाएको छ ।
शुक्रबार हेटौँडा–२ स्थित ओम वृद्धाश्रम तथा हेटौँडा–१५ स्थित वनदेवी आधारभूत विद्यालयमा आँखा शिविर सञ्चालन गरिएको थियो । ओम बृद्धाश्रममा कुल ८२ जनाको आँखा परीक्षण गरिएकोमा आठ जनामा मोतिविन्दु पहिचान भएको थियो ।
हेटौँडा–१५ मा भएको शिविरमा दुई सय ४० जनाको आँखा परीक्षण गरिएकोमा २३ जनामा मोतिविन्दु देखिएको अस्पतालले जनाएको छ । शनिबार बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–१९, इनरुवासिरामा भएको शिविरमा तीन सय ६० जनाको आँखा परीक्षण गर्दा ५१ जनामा मोतिविन्दु देखिएको थियो ।
सोही दिन बाराकै महागढीमाई नगरपालिका–१, वरियारपुरमा सम्पन्न शिविरमा तीन सय जनाको आँखा परीक्षण गरेकोमा ४० जनामा मोतिबिन्दु पहिचान गरिएको अस्पतालले जनाएको छ ।
यि ४ वटै शिविरबाट मोतिविन्दु भेटिएका बिरामीहरुमध्ये ९४ जना बिरामीको आइतबार निःशुल्क शल्यक्रिया गरिएको हेटौँडा सामुदायिक आँखा अस्पतालले जनाएको छ । केही बिरामीहरुमा मधुमेह तथा उच्च रक्तचाप लगायतका समस्याका कारण आँखाको शल्यक्रिया गर्न नमिलेको अस्पताल प्रशासनले जनाएको छ ।
आउँदो शुक्रबारसम्म बाँकी शिविरहरु पनि सम्पन्न गर्ने अस्पतालको योजना छ । यस अवधिमा बारामा थप एक, पर्सामा तीन रौतहटमा एक र मकवानपुरको बकैया गाँउपालिका–८ र ९ मा निशुल्क आँखा शिविर समेत सञ्चालन गर्ने जनाएको छ ।
