काठमाडौं । पश्चिम तराईका थारु समुदायमा वंशाणुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग बढ्दै गएको छ । सिकलसेलबाट सन्तानलाई बचाउनका लागि अनिवार्य रूपमा रगत जाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको छ ।
अरू समुदायमा पनि फाट्टफुट्ट देखिन थालेको सिकलसेल रोकथामका लागि थारु समुदायलाई रगत जाँच गरेर विवाह कुण्डली मिलाउन विशेषज्ञ चिकित्सकहरूले सुझाव दिएका छन् । यति बेला बाँकेका थारु गाउँहरूमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने पम्प्लेट नै छ्यापछ्याप्ती बाँडिएको छ ।
सिकलसेल रोग विशेषज्ञ डा. राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीबीचमा विवाह गर्नै नमिल्ने उल्लेख छ । ५० प्रतिशत बिरामी र ५० प्रतिशत वाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशतवाहकका बीचमा विवाह गर्दा पनि सोच विचार गर्नुपर्ने भनिएको छ ।
सामान्यतया विवाह गर्दा चिना हेर्ने गरिन्छ । तर, थारु समुदायमा भने रगत जाँच गर्नुपर्ने भएको छ । सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाहपूर्व नै रगत जाँच गरी वाहकहरू पत्ता लगाएर वाहक–वाहकबीच र वाहक र रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरा समुदायलाई सिकाउन र समुदायले स्वीकार्न जरुरी रहेको भेरी अस्पतालका फिजिसियन मेडिकल विभागका प्रमुख तथा सिकलसेल, थालेसिमिया रोगका स्रोत व्यक्ति समेत रहेका डा. पाण्डले बताए ।
उनले ५० प्रतिशत सामान्य र ५० प्रतिशत वाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख गरे । अहिले रोग नदेखिए पनि उनीहरूबाट जन्मिने शिशुमा रोग सर्न सक्नेलाई ‘वाहक’ भन्ने गरिएको उनले बताए । यसका बारेमा थारु समुदायलाई सचेत गराउन आवश्यक रहेको उनले उल्लेख गरे ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बिरामी र वाहक पत्ता लगाएर समुदायमा चेतनाका जगाउने काम भइरहेको बताए । बाँकेको थारु बाहुल्य गाउँमा यति बेला बिरामी र वाहक पत्ता लगाउने काम भइरहेको छ । उनले समुदायस्तरमा देखिन थालेको सिलसेलबारेमा नियन्त्रण र रोकथामका निम्ति समुदायमा नै पुगेर चेकजाँच भइरहेको जानकारी दिए ।
सिकलसेलका बिरामी तथा आफन्तहरू सरकारले बिरामीलाई बाचुन्जेल निःशुल्क औषधिको व्यवस्था गरिदिनुपर्ने माग गर्छन् । बिरामीका आफन्त रामकृष्ण थारुले सरकारले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने बताए । उपचारका लागि धेरै खर्च लाग्ने भएकाले आफूले त्यो व्यहोर्न नसक्ने उनको भनाइ छ ।
सरकारले पश्चिम नेपालका अस्पतालहरूमा सिकलसेल एनिमियाका बिरामीलाई एक लाख रुपैयाँबराबरको निःशुल्क उपचारको व्यवस्था गरेको छ ।
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, कपिलवस्तुलगायत जिल्लाका थारु समुदायमा सिकलसेल जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । यति बेला बाँकेको राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा सिकलसेलको परीक्षण र उपचार भइरहेको छ ।
सिकलसेलका रोगीले खाने औषधिको मूल्य महँगो छ । सरकारले अत्यावश्यक औषधिको सूचीमा सिकलसेलको औषधि पनि राखेको छ । तर, बिमामा भने समावेश गरिएको छैन । जसका कारण औषधिको सीमा सकिएका बिरामीले बिमाबाट सिकलसेलका लागि चाहिने औषधि पाउन सकेका छैनन् ।
बाह्रखरीबाट
