जुम्ला । जुम्लाको सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । यहाँका नागरिक उपचारका लागि जिल्ला बाहिर नेपालगञ्ज, काठमाडौँ र देशका ठूला सहरमा पुग्नुपर्ने बाध्यता थियो । अहिले जिल्लामै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्थापना भएपछि उपचारमा केही सहज भएको स्थानीय बासिन्दा बताउँछन् ।
आँखाको उपचारका लागि यहाँका स्थानीय तहमा आँखा उपचार केन्द्र पनि थपिँदै गएका छन् । सिञ्जामा रहेका हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका र कनकासुन्दरी गाउँपालिका सरमुकाम खलङ्गादेखि निकै टाढा पनि छन् । हिमा गाउँपालिकालाई हिमालय आँखा अस्पतालले स्वास्थ्य सामग्री सहयोग तथा पालिकाको प्राविधिक सहयोगमा सेवा सञ्चालन गरेको छ । आँखा उपचार केन्द्रका लागि चाहिने मेशिनलगायत सबै सामग्री हिमालय आँखा अस्पताल पोखराले उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिनुभयो ।
पालिकास्तरीय आँखा उपचार केन्द्र सञ्चालनका लागि चिकित्सकको व्यवस्थापन पालिकाले गर्नेछ । धुलो र धुँवाका कारण गाउँमा आँखाका बिरामी वर्षेनी बढ्दै गर्छन् । “शिविर सञ्चालन गर्दा भीड हुने, टाढा गएर उपचार गराउन आर्थिक रुपले नभ्याउने हुँदा नागरिकको राहतका लागि पालिकामै आँखा उपचार केन्द्र सञ्चालन गरिएको हो”, अध्यक्ष शाहीले बताउनुभयो ।
कनकासुन्दरी गाउँपालिकाको हाँडसिञ्जा स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । गाउँपालिका र नेपाल नेत्रज्योति सङ्घको समन्वयमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको हाँडसिञ्जा स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्र उपाध्यायले जानकारी दिनुभयो । सिञ्जा गाउँपालिकाले पनि नराकोटमा गतवर्षदेखि आँखा उपचार केन्द्र स्थापना गरिसकेको छ । सो गाउँपालिकाले पनि नेपाल नेत्रज्योति सङ्घको समन्वयमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।
आँखा उपचार केन्द्र सञ्चालन गर्नका लागि गाउँपालिकाले आँखा उपचारसम्बन्धी दक्ष एक जना नायब सुब्बास्तरको कर्मचारी व्यवस्थापन गरेको छ । नजिककै आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि यहाँका ज्येष्ठ नागरिक तथा आँखासम्बन्धी बिरामी भएका व्यक्तिलाई राहत पुगेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । रासस
