जर्कार्ता (इन्डोनेशिया) । १७ महीने बालिका नादिरालाई रुघाखोकी लागेपछि उसको आमा अगष्टिना मेलानीले प्यारासिटामोलयुक्त कफ सिरप दिएकी थिइन् । उनले सो औषधि दक्षिण जर्कातामा रहेको एउटा स्वास्थ्य केन्द्रबाट किनेकी थिइन् । ज्वरो ओर्लिने कुनै संकेत नदेखिएपछि बालिकाको आमाले हरेक ४/४ घन्टामा उनलाई उक्त औषधि दिइन् ।
तर पनि ज्वरो घटेन । अन्त्यमा उसको पिसाब नै बन्द भयो । नदिरालाई तत्कालै अस्पताल लगियो । ल्याबमा परीक्षणका क्रममा उनको पिसाबमा अत्यधिक मात्रामा युरिया र सेराटिन भेटियो । किड्नीले काम गर्न बन्द भएपछि थुप्रिने अपशिष्ट तत्व हो युरिया र सेराटिन । बालिका कोमामा गइन् अनि उनको मृत्यु भयो ।
अहिले इन्डोनेशिया मृत्युको भयावह लहरसँग जुधिरहेको छ । इन्डोनेशियामा झोल औषधि सेवनका कारण मर्ने बालबालिकाहरुको संख्या बढ्दै गइरहेको छ । यो वर्ष शुरु भएयता झोल औषधि सेवनका कारण किड्नीमा गम्भीर खालको चोट लागेर वा अन्य जटिलताहरु उत्पन्न भएर मृत्यु भएका बालबालिकाहरुको संख्या कम्तिमा पनि १५७ पुगेको छ । यसरी मर्ने अधिकांश बालबालिकाहरुको उमेर ५ वर्षभन्दा कम रहेको छ ।
नादियाको मृत्यु अगष्टमा भएको हो । किड्नीमा अज्ञात समस्याका कारण बालबालिकाहरु मर्ने क्रम बढेपछि इन्डोनेशिया सरकारले अक्टोबरमा सबै खालको झोल औषधिको विक्री वितरणमा प्रतिबन्ध लगायो । पछि यो प्रतिबन्ध सिरप सेवनका कारण बिरामी भएका वा मृत्युवरण गर्न पुगेका बालबालिकाहरुको घरमा भेटिएको शंकास्पद ठानिएका सय प्रडक्टमा सीमित गरियो ।
देशभरमा औषधि पसलेहरुले पसलको तखताबाट धमाधम सबै झोल औषधि झिके । बालबालिकाहरुको अभिभावकहरुलाई औषधि चाहिने भए चक्की औषधि पिसेर खुवाउन भनियो । मृतक बालबालिकाहरुको शरीरमा इथेलिन ग्लाइकोल र डाइथेलिन ग्लाइकोल जस्ता हानिकारक तत्वहरु पाइएको थियो ।
इथेलिन ग्लाइकोल र डाइथेलिन ग्लाइकोल एसी, फ्रिज र रेफ्रिजिरेटरमा प्रयोग गरिने एन्टीफ्रिज सोलुसन हो । यसलाई सौन्दर्य प्रशाधनहरुमा प्रयोग गरिन्छ । यी तत्वहरु औषधिमा कहिल्यै प्रयोग नगरिने विश्व स्वास्थ्य संगठनले बताएको छ । बालबालिकाहरुको किड्नीमा गम्भीर खालको समस्या यही तत्वहरुले गर्दा भएको बताइएको छ ।
गामबियामा भारतीय कम्पनीले बनाएको रुघाखोकीको झोल औषधि सेवनका कारण ७० जना बालबालिकाको मृत्यु भएको केही हप्तामा इन्डोनेशियाको मामिला सार्वजनिक भएको थियो । गामबियाको घटनामा पनि रुघाखोकीका चार थरी औषधिमा स्वीकार गर्न नसकिने स्तरमा इथेलिन ग्लाइकोल र डाइथेलिन ग्लाइकोल पाइएको थियो ।
यी दुबै घटनाहरु एकअर्कामा जोडिएको प्रमाण पाइएको छैन । भारतीय अधिकारी र विषाक्त औषधि बनाउने कम्पनी मेइडेनले भने ती औषधि गामबिया मात्रै पठाइएको दाबी गरेको छ ।स्थानीय स्तरमा मेइडेनको औषधि उपलब्ध नभएको इन्डोनेशियाले पनि बताएको छ । हालै मात्रै औषधि बनाउने प्रयोग हुने केही सामाग्रीहरुको आपूर्तिकर्ता परिवर्तन गरेको दुई फर्मा कम्पनीहरुमाथि अनुसन्धान गर्ने गएको सोमवार इन्डोनेशियाको खाद्य तथा औषधि एजेन्सी ‘बीपीओएम’ले भनेको थियो ।
अहिले पनि इन्डोनेशियामा किड्नीमा गम्भीर समस्या देखिएका दर्जनौं बालबालिकाहरुको उपचार भइरहेको छ । यिनीहरुको उपचारका लागि आवश्यक दूर्लभ एन्टीडोट फोमेपिजोल उपलब्ध गराउन इन्डोनेशियाले सिंगापुर र अष्ट्रेलियासँग अनुरोध गरेको छ । यो घटनाले इन्डोनेशिया स्तब्ध बनेको छ ।
मानवीय क्षति जारी छ । देशभरमा यस्तो खालको घटना देखिनुको अर्थ वितरण सञ्जाल व्यापक रहेको कम्पनीहरु यस घटनामा मुछिएको देखिन्छ । मर्नेको संख्या आगामी दिनमा थप बढ्न सक्ने बताइएको छ । एजेन्सी
