काठमाडौँ । नेपाल चिकित्सक सङ्घको केन्द्रीय अध्यक्षमा चितवनका डा अनिलविक्रम कार्की निर्वाचित हुनुभएको छ । सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा कार्कीले तीन हजार पाँच सय ३७ मत ल्याई विजयी हुनुभएको हो ।
उहाँका निकटत प्रतिद्वन्द्वी डा सन्तोष पौडेलले दुई हजार तीन यस २३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले जानकारी दिनुभयो ।
यस्तै अध्यक्षका प्रत्यासी डा. शिवजी विक्रम सिलवालले एक सय ९० मत पाउनुभएको थियो ।
संघको मधेस प्रदेश उपाध्यक्षमा डा नीरजकुमार सिंह, बागमती प्रदेश उपाध्यक्षमा डा प्रकाश बुढाथोकी, गण्डकी प्रदेश उपाध्यक्षमा डा राजन शर्मा र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा प्रशान्त भट्ट निर्वाचित हुनुभएको छ ।
यही माघ २२ गतेदेखि भएको मतगणना मंगलबार सकिएको हो । यसअघि वरिष्ठ उपाध्यक्षमा डा बद्री रिजाल, प्रदेश नं १ उपाध्यक्षमा डा विपेश आचार्य, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा केशरबहादुर ढकाल निर्विरोध निर्वाचित भईसक्नु भएको छ ।
यस्तै संघको महासचिवमा डा सञ्जिव तिवारी निर्वाचित हुनुभएको छ । सङ्घको सदस्यमा डा अमृत रञ्जन मिश्र, डा किशोर कार्की, डा स्मृति महत, डा सिर्जना विष्ट, डा तेङ्सुसिंह मल्ल र डा योभिन यादव निर्वाचित हुनुभएको छ ।
कोषाध्यक्ष डा प्रमोद जोशी, सहकोषाध्यक्ष डा विक्रान्त ढकाल र सहसचिवमा डा लिजन महर्जन पनि निर्विरोध निर्वाचित हुनुभएको थियो । निर्वाचनमा कूल १२ हजार आठ सय ३४ मध्ये छ हजार दुई सय ९२ मत खसेको निर्वाचन अधिकृत डा मगरले जानकारी दिनुभयो ।
