रुपन्देही । भैरहवामा बन्दै गरेको एड्भान्स इन्टरनेशनल हस्पिटलको लागत २२ प्रतिशतले बढेको छ । सन् २०२१ मा स्थापना भएको कम्पनीले भैरहवामा २ सय शय्याको विशेष अस्पताल बनाइरहेको हो ।
सुरूमा कम्पनीले १५० शय्याको अस्पताल निर्माण गर्ने योजना बनाएको थियो । कम्पनीले अनुमानित लागतमा पुनरावलोकन गरी ४ अर्ब २० करोड ६० लाख रुपैयाँ पुर्याएको छ । जसमा कम्पनीले ऋण तथा इक्विटीको लागत ६९ प्रतिशत राखेको छ ।
निर्माणाधीन अस्पताल आयोजना प्रारम्भिक रूपमा निर्धारित समयसीमाभन्दा करिब साढे १ वर्ष ढिलो भइसकेको छ । जसले गर्दा लागत २२ प्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ । शय्या क्षमता १५० बाट बढाएर २०० पुर्याउनुका साथै अन्य सहायक सिभिल संरचनाहरू थप गरिएकाले अस्पतालको संशोधित लागत बढेको कम्पनीको भनाइ छ ।
क्षमता विस्तारका कारण प्रतिशय्या लागतमा केही कमी आएको छ । सुरूमा प्रति शय्या निर्माण गर्न २ करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएकोमा अहिले लागत घटेर अहिले २ करोड १० लाख रुपैयाँमा निर्माण हुने कम्पनीले जनाएको छ । तर, आयोजनाको कार्यान्वयनमा निरन्तर भइरहेको ढिलाइ र लागत वृद्धिका कारणहरू प्रमुख चिन्ताका विषय बनेका छन् ।
अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सन् २०२६ अगस्टको मध्यसम्म आयोजनाको वित्तीय प्रगति ७३ प्रतिशत पुगेको छ । हालसम्ममा चिकित्सा उपकरणहरूको खरिद समेत भइसकेको छ । आगामी डिसेम्बरदेखि अस्पताल सञ्चालनमा ल्याइने तयारी छ ।
कम्पनीका प्रमुख प्रवर्द्धकहरू नेपालगञ्ज मेडिकल कलेज, सञ्जीवनी नर्सिङ कलेज, सिटी हस्पिटल लगायतका संस्थाहरूसँग आबद्ध छन् । यस क्षेत्रमा प्रवर्द्धकहरूको १५ वर्षभन्दा बढीको अनुभव रहेको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ९४ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब २ ९० करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ करोड रुपैयाँको रेटिङ गराएको हो । कम्पनीले यसअघि २ अर्ब ४० करोड रुपैयाँको रेटिङ गराएको थियो ।
