चितवन । भरतपुर महानगरपालिकाका नगर उप प्रमुख चित्रसेन अधिकारीले रेडक्रस जस्तो गरिमा बोकेको सस्थालाइ गतिशील र पारदर्शी बनाउन आबश्यक रहेको बताउनु भएको छ ।
उप प्रमुख अधिकारीले नेपाल रेडक्रसका स्वयंसेवकहरुले आधारभूत सिद्धान्त अनुरुप गतिविधि प्रतिविम्बित भए÷नभएको समीक्षा गर्दै अगाडी बढनुपर्ने समय आएको समेत बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी चितवनको ५१ औ बार्षिक साधारणसभा तथा अधिबेशनलाई शनिबार नारायणगढ सम्बोधन गर्दै उप प्रमुख अधिकारीले समाजमा नेपाल रेडक्रसले गरेका कार्यहरु प्रशंसनीय रहेको प्रष्ट पार्नु भयो। साथै उहाँले विभिन्न आपत्कालीन अवस्थामा रेडकसर्मीले पुर्याएको सेवाको उच्च प्रशंसा गर्दै रेडक्रसलाई अगाडि बढाउने कार्यमा सहयोग गर्न स्थानीय सरकार सधैं तयार रहेको बताउनु भयो।
उप प्रमुख अधिकारीले ३ पटक नोबेल शान्ति पुरस्कार विजेता रेडक्रस संस्थाले पारदर्शीताका साथ मानवीय पीडा कम गराउन निरन्तर क्रियाशील रहेकोमा खुशी प्रकट गर्नु भयो ।
नेपाल रेडक्रस सोसाइटीको स्थापना २०२० भाद्र १९ गते भएको थियो । देशका सबै ठाउँमा रहेका नेपाल रेडक्रसका एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीहरुले वर्षेनी औषत २५ लाख मानिसलाई सेवा पुर्याउँदै आएका छन् ।
मानवीय सेवामा अग्रिण संस्थाको रुपमा स्थापित नेपाल रेडक्रस सोसाइटीले विपद्का बेला तत्काल उद्धार तथा राहत, रक्तसञ्चार, एम्बुलेन्स, प्राथमिक उपचार सेवाका साथै जीवन रक्षा, स्वास्थ्य प्रवर्धनका क्षेत्रमा सेवा प्रवाह गर्दै आएको छ ।
कार्यक्रममा जिल्ला उप सभापति रत्न प्रसाद सापकोटा,चितवन उद्योग सघका अध्यक्ष त्रिलोचन कडेल, नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल लगाएतले मन्तव्य राख्नु भएको थियोे ।
