चितवन । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनयमएसआरए) नेपालको २८ औं राष्ट्रिय महाधिवेशन आज शुक्रबारदेखि शुरु भएको छ । भरतपुर स्थित क्षेत्रपुरको दियालो फुडल्याण्डमा दुई दिने महाधिवेशन शुरु भएको हो । महाअधिवेशनको बागमती प्रदेशका कृषि तथा पशुपछी विकास मन्त्री केशवप्रसाद पोखरेलले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै मन्त्री पोखरेलले औषधि तथा बिक्री प्रतिनिधि (एमआर) हरुको राज्यमा योगदान रहेको बताउँदै सरकार सारथी बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले श्रमका हिसाबले मात्रै नभएर सेवाका हिसाबले पनि एमआरहरुले काम गरिररहेको बताउनुभयो ।
राज्यले कुनै पनि कानुन निर्माण गर्दा सरोकारवालाहरुसँग छलफल गरेर ल्याउनु पर्ने भन्दै उहांँले श्रमऐन श्रमिकमैत्री हुनुपर्ने उहांँको भनाई थियो । देश विस्तारै आर्थिक संकटमा जाँदै गरेको बताउँदै उहाँले आ–आफ्नो ठाउँबाट सबैले इमान्दारितापूर्वक काम गर्नुपर्ने बताउनुभयो ।
निजामती कर्मचारीको साझा ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भोलानाथ पोखरेलले नेपालको राज्यले व्यवसायीको कुरा सुन्ने तर कुरा नबुझ्ने रहेको बताउनुभयो । उहाँले राज्यले तोकेको न्यूनतम ज्याला पनि औषधि उद्योगले कामदारहरुलाई नदिएको बताउनु भयो ।
ट्रेडयुनियन शिक्षाको अभाव भएको भन्दै उहाँले नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघले ट्रेड युनियन शिक्षा दिनुपर्ने बताउनुभयो ।
नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा। अनिलबिक्रम कार्कीले औषधि उत्पादनदेखि वितरक, एमआर, चिकित्सक सबैले एक अर्काको सहअस्तित्व स्वीकार्नुपर्ने बताउनुभयो । एमआरहरु सुरक्षित हुँदा चिकित्सकहरु पनि सुरक्षित रहने उहांँको धारणा थियो ।
लोकतन्त्रमा औषधि, चिकित्सक र अस्पताल रोज्न नपाउने अवस्था राज्यले सिर्जना गरेको बताउनु भयो ।
कार्यक्रममा एनसिडिए चितवनका अध्यक्ष विनोद तिमिल्सिना, नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा। लोकबहादुर सेढाई, पिईएएनका नेत्रराज पौडेल, एनएआईएनका अध्यक्ष अन्जन पुडासैनी, शिव बास्कोटम लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
संघका अध्यक्ष अनिल दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष ध्रुवराज कोईरालाले गर्नुभएको थियो ।
सो अवसरमा संघमा रहेर विभिन्न योगदान पु¥याउने महानुभावहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा। अनिलबिक्रम कार्की, पूर्व अध्यक्ष किरण केसी र ध्रुव कोईराला, गुड्डुकुमार झा, प्रभात शर्मा, भूपेन्द्रजंग शाहीलगायत हुनुहुन्थ्यो । कार्यक्रमको बीचबीचमा सांस्कृतिका कार्यक्रम, गीत, गजल, कविता वाचन गरिएको थियो ।
भोलिसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरका १४ ईकाईबाट ५०० प्रतिनिधि सहभागी हुनु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । अध्यक्ष एक, बरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, सचिव ३, कोषाध्यक्ष एक, सहकोषाध्यक्ष एक र १४ ईकाईबाट एक एक जना सदस्य रहने व्यवस्था रहेको छ । दुई जना सदस्य भने समितिले मनोनयन गर्ने छ । समितिको कार्यकाल तीन वर्षको रहेको छ ।
महाधिवेशन तयारी समितिका संयोजक एवं नारायणगढ इकाई अध्यक्ष धर्मदत्त दवाडीका अनुसार महाधिवेशनको बन्द सत्रमा प्रगति र आर्थिक प्रतिवेदन पारित गरिनुका साथै भावी कार्यक्रमबारे छलफल गरिने छ ।
